शैक्षिक गुणस्तर सुधार्न समुदायको भूमिका महत्त्वपूर्ण :अध्यक्ष राई



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न समुदायको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् ।

रीड नेपालको आयोजना तथा थुलुङ दुधकोशी गाउँपालिकाको समन्वयमा वीरेन्द्रोदय मावि मुक्लीमा सुरु भएको २ दिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक संघ अध्यक्ष र विद्यालय व्यबस्थापन समिति महिला सदस्यहरुका लागि क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दैन अध्यक्ष राईले सो कुरा बताएका हुन। पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएकोमा चिन्ता व्यक्त गर्दै उनले गुणस्तर सुधार गर्न शिक्षक अभिभावक संघ र विद्यालय व्यबस्थापन समितिले आफ्नो जिम्मेवारी सहि ढंगले निर्बाह गर्नुपर्ने बताए। विद्यालय व्यबस्थापन समिति समुदायबाट चुनिएको गरिमामय पद भएकोले आफ्नो पदको गरिमा जोगाउन भएपनि विद्यालयको हितमा असल नियतका साथ काम गर्नुपर्ने कुरामा अध्यक्ष राईले जोड दिए।

कार्यक्रममा सामाजिक विकास समिति संयोजक बुद्धिराज राईले निजि विद्यालयमा थोरै सेवा सुविधाका बाबजुद पनि गुणस्तर राम्रो हुने तर राज्यको धेरै लगानी हुँदापनि सामुदायिक विद्यालयको गुणस्तर कम भएको बताउदै सबै पक्ष लागिपरेर शैक्षिक गुणस्तर बढाउन जोड दिनु पर्ने बताए ।

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै शिक्षा शाखा प्रमुख गणेश गुरुधामीले विद्यालय सुधारमा वि व्य सको भूमिका महत्वपूर्ण भूमिका रहेको बताउदै विद्यालयको गुणस्तरमा जोड दिन आग्रह गरे।

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले शिक्षाको गुणस्तर सुधारमा शिक्षक अभिभावक,प्रधानाध्यापक,विद्यार्थी र समितिको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने हुँदा विव्यस तथा शिअ संघको क्षमता अभिवृद्धि गर्न आवश्यक महसुस गरी कार्यक्रमको आयोजना गरिएको बताए।

तालिममा वि व्य स तथा शि अ संघको काम कर्तव्य अधिकार, नीतिगत शैक्षिक ऐन कानुन, विद्यालयको वर्तमान अवस्था बालमैत्री विद्यालयको अवधारणा, नेतृत्त्व विकास, द्वन्द व्यवस्थापन सकारात्मक सोंच र कार्य योजना निर्माण लगाएतका विषय वस्तु तालिममा समावेश गरिने सयोजक गिरीले जानकारी गराउनु भयो ।

तालिममा थुलुङ दुधकोशीका ४२ जना वि व्य स तथा शि अ संघ पदाधिकारीको उपस्थिति रहेको छ यो भन्दा अगाडी लिखुपिके, सोलुदुधकुण्ड, महाकुलुङ र माप्यामा यही प्रकृतिको तालिम संचालन गरिसकेको रीड नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्