भौतिक बिकासक्रम र सेवाप्रवाहका हिसाबले थुलुङ दुधकोशी देशकै नमूना : अध्यक्ष राई



सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले भौतिक बिकासक्रम र सेवाप्रवाहका हिसाबले आफ्नो पालिका देशकै नमूना भएको दावी गरेका छन्।

पालिकाको वडा नं ७ देउसामा तीन वटा योजनाको एकै पटक
उद्घाटन कार्यक्रममा अध्यक्ष राईले आइतबार सो कुरा बताएका हुन्।जनप्रतिनिधिको सक्रियता र बिकास निर्माणप्रतिको उत्कट चाहनाले अन्य स्थानीय तह भन्दा थुलुङ दुधकोशी उदाहरणीय बनेको उनको भनाइ थियो।कार्यक्रममा वडा नं-७ को वडा कार्यालय भवन, स्वास्थ्य इकाई भवन र ढाका बुनाई तालिमको एकै पटक उद्घाटन गरिएको थियो।योजनाको गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष सबिता राई र प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले गरेका हुन ।

वडा कार्यालय भवन जिल्ला समन्वय समन्वय समितिको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत पालिकाको गरि करिब ९३ लाखको लागतमा निर्माण गरिएको हो भने सामुदायिक स्वास्थ्य इकाई देउसामा पालिकाले करिब ३२ लाखको लागतमा निर्माण सम्पन्न गरेको हो ।

यस्तै मेडपा र गाउँपालिकाले १० लाखको संयुक्त लगानीमा आयोजना गरेको ३ महिने ढाका बुनाई तालिमको पनि उद्घाटन भएको छ । उक्त तालिममा पालिकाभरका ३० जना महिलाहरुको सहभागिता रहेको वडाध्यक्ष भोजराज कार्कीले जानकारी दिए । ढाका बुनाई तालिमलाई उद्योगकै रुपमा विकास गर्ने भएकाले उत्पादित ढाकाको बजारिकरणको जिम्मा वडा र पालिकाले लिने उनले बताए ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित जग्गादाता सम्मानित कार्यक्रममा वडा कार्यालय भवनका लागि ५ रोपनी जग्गा दान गर्ने नरभक्त राई, सोलाहाङ राई र ऐस्वर्य राई तथा स्वास्थ्य इकाई भवनको जग्गा दाता भक्त कुमार राईलाई सम्मानपत्रसहित सम्मानित गरिएको छ । यस्तै गाउँपालिका अध्यक्ष असिम राई र उपाध्यक्ष सविता राईलाई पनि सम्मानपत्रसहित सम्मानित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्