काठमाडौ उपत्यकामा अब सार्बजनिक गाडी चढ्यो कि १८ रुपैयाँ भाडा तिर्नुपर्ने



बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडादर कात्तिक १ गतेदेखि लागू हुने गरी समायोजन गरेको छ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री केशव पाण्डेले सरकारले प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडादर समायोजन गरिएको जानकारी दिएका हुन्।
उनका अनुसार काठमाडौँ उपत्यकाभित्र चल्ने सवारीसाधनको भाडा किलोमिटरको आधारमा र उपत्यकाबाहिरका १० जिल्लामा २३ प्रतिशतको दरले भाडा समायोजन भएको छ।

मन्त्री पाण्डेले उपत्यकामा पहिले ८ प्रकारमा वर्गीकरण गरेर भाडा समायोजन गर्ने गरिएकोमा हाल ५ प्रकारमा विभाजन गरेर भाडा समायोजन गरिएको जानकारी दिए। उनका अनुसार उपत्यकाभित्र चल्ने सवारीको हकमा ० देखि ५ किलोमिटरको १८ रुपैयाँ र २० किलोमिटर माथि ३५ रुपैयाँदेखि माथिका दरले भाडादर समायोजन भएको छ। सरकारका प्रवक्तासमेत रहेका पाण्डेले उपत्यकाबाहिरका जिल्लामा भने २३ प्रतिशतको दरले भाडा समायोजन गरिएको जानकारी दिए।

यसअघि आज बुधबार सार्वजनिक यातायात व्यवसायीले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअगाडि धर्ना दिएका थिए। धर्ना दिएपछि मुख्यमन्त्री कार्यालयको अनुमतिमा भौतिक पूर्वाधार मन्त्रालयले भाडा समायोजन गरेको मन्त्री पाण्डेको भनाइ छ। प्रदेश सरकारले भाडा समायोजन गरेर आफूहरूको माग सम्बोधन गरेपछि आन्दोलन स्थगित गरेको सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष भरत तिमल्सिनाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्