आफैं खाली गर्न थाले मनोहरा खोला किनाराका सुकुम्वासीले बस्ती
भक्तपुर,१२ बैशाख । सरकारले थालेको सुकुम्बासी बस्ती खाली गर्ने अभियानलाई समर्थन जनाउँदै काठमाडौं–भक्तपुरको सीमाना मनोहरा खोला किनारमा बसिरहेका सकुम्बासीहरुले बस्ती खाली गर्न थालेका छन् ।

सार्वजनिक र व्यक्तिको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना खाली गराउन थालेपछि मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा रहेको मनोहरा खोला किनाराका सुकुम्वासीले बस्ती छाडेका हुन् ।
सरकारको सुकुम्वासी बस्ती खाली गराउने अभियानप्रति पूर्ण समर्थन गर्दै मनोहराका ७ सय ७७ परिवारले बस्ती छाड्न थालेका हुन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले मनोहरा सुकुम्वासी बस्तीका ८० प्रतिशतले आज दिउँसो २ बजेसम्म सामान लिएर बस्ती छाडेका जानकारी दिए ।
बाँकी रहेकाहरूले आफ्ना सामान सारिरहेका बताउँदै उनले हिजो बस्तीमा प्रहरीले माइकिङ गरी बस्ती छाड्न र वास्तविक सुकुम्वासी सरकारको सम्पर्कमा आउन आग्रह गरेको जानकारी दिए । सरकारले थापाथलीको बस्ती हटाइसकेको जनाउँदै उनले तीनकुने गैह्रीगाउँमा रहेको सुकुम्बासी बस्ती हटाइसकेको जानकारी दिए ।
उनका अनुसार त्यहाँको बस्ती हटाइसकेपछि त्यही टोली आएर मनोहरा किनाराको दायाँबायाँ रहेका बस्ती हटाउने छन् ।भ्याएसम्म आज, नभ्याए भोलि बिहानदेखि बस्ती हटाउने प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । सुकुम्वासीले सरकारको अभियानलाई सहयोग गर्दै बस्ती छाड्नु सकारात्मक पक्ष भएको उनको भनाइ छ ।
मनोहरा सुकुम्बासी बस्तीमा ७ सय ७७ घरटहरामा झन्डै १ हजार ६ सय भन्दा बढी मानिस बसिरहेका थिए । बस्तीमा ५० भन्दा बढी दुईतले पक्की घर रहेका छन् भने धेरै जस्ताका टहरा र ब्लकका घरहरू छन् । बस्तीमा आजै बेलुकासम्म भत्काउन तयारीका साथ भक्तपुरबाट झन्डै १ सय भन्दा बढी नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।

