सर्बत्र प्रशंसा पाएका बुद्ध एयरका क्याप्टेन आङगेलु शेर्पालाई उडान भर्न रोक, घटना छानबिन हुंदै

काठमाडौं।निजी वायुसेवा कम्पनी बुद्ध एयरले क्याप्टेन आङ्गेलु शेर्पा र चालक दलका सदस्यलाई उडान भर्नबाट रोक लगाएको छ। सोमबार भएको काठमाडौं–विराटनगर उडानमा जहाजको ल्याण्डिङ गियर नखुलेको भन्दै विराटनगर पुगेको उक्त जहाज पुनः काठमाडौंमै अवतरण गराइएको थियो ।कष्टपूर्ण ढंगले धावनमार्गमा बिमान अवतरण गराएर ७३ जना यात्रीको जीवन जोगाएको भन्दै उनको सर्बत्र प्रशंसा भइ रहेको छ।

अनुसन्धानको क्रममा जहाजमा कुनै प्राविधिक समस्या नदेखिएको भन्दै जहाजलाई रिलिज गरिएपनि चालक दललाई भने छानविन रिपोर्ट नआएसम्मका लागि उडान प्रतिबन्ध लगाइएको हो।
उक्त घटनाबारे बुद्ध एयरको आन्तरिक छानविन टोेलीले जहाजमा समस्या नभएको रिपोर्ट पेश गरिसकेको छ । नियामक निकाय नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले पनि जहाजमा समस्या नआएको बताउँदै भोलिपल्टबाटै उडान अनुमति दिइसकेको थियो ।
तर, घटनाको विस्तृत छानविनका लागि वरिष्ठ क्याप्टेन दधिराम निरौलाको संयोजत्वमा छानविन कमिटी गठन भएको छ । समितिले छानविन रिपोर्ट नबुझाएसम्म शेर्पालगायतका चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लगाइएको हो।

