सगरमाथा राष्ट्रिय निकुञ्ज : अनुमति बिनै हेलिकप्टर उडान रोकिएन, कडा कारवाही गर्ने निकुञ्जको चेतावनी

खगिन्द्रराज बाँस्तोला

सोलुखुम्बु । सोलुखुम्बु जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण ईकाइको बैठकले सगरमाथा राष्ट्रिय निकुञ्च क्षेत्रमा अनधिकृत रुपमा हेलिकप्टर उडान नरोकिएको भन्दै अनुमति बिना त्यस क्षेत्रमा उडान गर्ने हेलिकप्टर कम्पनीहरुलाई प्रचलित कानुन अनुसार कडाईका साथ कानुनी कारवाही गर्ने निर्णय गरेको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायको संयोजकत्वमा नेपाली सेनाको रणसूर गुल्म नाम्चे, प्रहरी नायव उपरीक्षक कवित कटवाल, सहायक प्रहरी नायव उपरीक्षक दिनेश शर्मा प्रमुख अनुसन्धान अधिकृत देवेन्द्र खतिवडा र विशेष आमन्त्रिको रुपमा प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीलगायत सरोकारवालाहरुको उपस्थितिमा विहीबार सम्पन्न बैठकले गत माघ २८ गते बसेको वन्यजन्तु अपराध नियन्त्रण ईकाइ ९ध्ऋऋद्य० को निर्णय तथा विभिन्न १० वटा हेलिकप्टर कम्पनीहरुको नाममा लेखिएको सरमाथा राष्ट्रिय निकुञ्च कार्यालयको गत फागुन ५ गतेको पत्रको बेवास्ता गर्दै हेलिकप्टरहरुले साविकमा झैं आफूखुसी निकुञ्ज क्षेत्रभित्र उडान कार्यलाई निरन्तरता दिएको भन्दै बैठकले सो निर्णय गरेको हो । बैठकले हेलिकप्टर कम्पनीहरुले अझै पनि सरकारी राजश्व छल्ने नियत राख्नुका साथै निकुञ्जभित्र गलत क्रियाकलाप गर्न सक्ने सम्भावना समेत रहेको निष्कर्ष निकालेको छ । हेलिकप्टर कम्पनीहरुले विभिन्न वहानामा जारी राखेको उडानलाई नियन्त्रण गर्न गरिने कानुनी कारवाहीका लागि अन्य सुरक्षा निकायले सहयोग गर्ने निर्णय समेत बैठकले गरेको जनाइएको छ ।

नजिकै आउन लागेको नेपालीहरुको महान् चाड दशैं र तिहारको मौका छोपी वन्यजन्तुका चोरी शिकारीहरुबाट निकुञ्ज क्षेत्रमा वन्यजन्तु तथा वनजन्य अवराधका घटनाहरु नियन्त्रणका लागि सोलुखुम्बु जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण ईकाइका सबै निकाय तथा सरोकारवालाहरु समेत सजग र सचेत भई एकआपसमा सहकार्य गर्नुपर्ने निर्णय पनि बैठकले गरेको जनाइएको छ ।

