मैलुङ खोला जलविद्युतको सेयर भोलि बांडफांड हुने,कतिले पाउंदैछन सेयर ?
काठमाडौं।मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) भोलि मंगलबार बाँडफाँड हुने भएको छ ।बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार प्रिअलटमेन्ट सकेर कम्पनीको शेयर मंगलबार शेयर बाँडफाँट गर्न लागेको हो ।
क्यापिटलका अनुसार कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकबाट २ करोड ८५ लाख ४१ हजार ८४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार गोलाप्रथबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ६६ हजार ८७४ जनाले मात्रै शेयर पाउनेछन् ।
त्यस अनुसार २० लाख ५२ हजार जना भन्दा बढी आवेदकको हात खाली हुने देखिएको छ ।
कम्पनीले बिहीबारदेखि प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको छ। त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । त्यसपछि बाँकी रहने ६ लाख ६८ हजार ७४६ कित्ताका लागि सर्वसाधारणलाई बाँडफाँट गर्ने छ ।
हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ रहेको छ। सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ।