असार ११ गतेदेखि जीवन विकास लघुवित्तको साधारण सेयर खुल्दै



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असार ११ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक (आईपीओ) बिक्री खुला गर्ने भएको छ । लघुवित्तले सर्वसाधारणमा १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० रुपैयाँ आईपीओ निष्कासन गर्न लागेको हो ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका साधारण सेयर बिक्री गर्न लागेको हो । कुल निष्कासनमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्कासनको ५ प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्ट्याएको छ । बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट साथै मेरोसेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्रा एनपी इस्युअर रेटिङ त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा असार १५ गते हुनेछ भने ढिलोमा असार २५ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्