काठमाडौंमा मेलम्चीको पानी बितरण असार १ बाट बन्द गरिने



काठमाडौं।। गत चैत १५ बाट काठमाडौं उपत्यकाबासीका धारामा आउन थालेको मेलम्चीको पानी फेरि ४० दिन रोकिने भएको छ ।

मेलम्चीको पानी असार १ गतेबाट बन्द गरेर सुरुङमार्गको निरीक्षण गर्ने तयारी गरिएको आयोजनाले जानकारी दिएको छ।

मेलम्ची खानेपानी विकास समितिले असारबाट पानी बन्द गरेर सुरुङमार्गको निरीक्षण गर्ने योजना बनाएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिइ) राजेन्द्रप्रसाद पन्तले बताए। ‘यो नियमित प्राविधिक काम हो। सुरुङमार्गका संरचनाहरु के छन् भनेर हेर्नुपर्छ। यसले निर्माणको कम्पनीको कामको गुणस्तर पनि थाहा हुन्छ,’ उनले भने, ‘खानेपानी मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग स्वीकृति मागिएको छ।’

यसका लागि सरकारले आयोजनालाई स्वीकृति भने दिइसकेको छैन। स्वीकृत भए मेलम्चीको पानी वितरण करिब ४० दिन बन्द हुनेछ। पन्तका अनुसार पानी बन्द गरेर सुरुङमार्ग खाली गरिनेछ। सुरुङमार्ग खाली गर्न करिब १५ दिन लाग्ने अनुमान छ। त्यसपछि एक साता सुरुङमार्गको परामर्शदाता कम्पनी,निर्माण कम्पनीका प्राविधिक र मेलम्ची खानेपानी विकास समितिको सयुक्त टोलीले निरीक्षण गर्नेछ।

सबै संरचना ठिक देखिए पुन: पानी हालिनेछ। कुनै समस्या देखिए मर्मत गरेर मात्रै पानी हालिनेछ। सुरुङमार्गमा पानी भर्न पुनः १५ दिन लाग्ने छ।

राजधानीबासीको लामो प्रतीक्षापछि आएको मेलम्चीको पानी चैत १५ गतेबाट परीक्षण वितरण सुरु भएको हो। महांकालचौरस्थित ट्यांकीबाट वितरण सुरु गरिएको पानी उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को पुरानै प्रणालीबाट चक्रपथभित्रको अधिकांश स्थानमा वितरण भइरहेको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी)ले मेलम्चीको पानी वितरणका लागि बिछ्याएको नयाँ प्रणालीको परीक्षण धमाधम गरिरहेको छ। करिब हजार किलोमिटर वितरण प्रणाली परीक्षण गर्नुपर्नेछ। जसमा कोरोनाका कारण थोरै मात्रै परीक्षण भएको बताइएको छ।

मेलम्चीको पानी आएपछि काकाकुल बनेका राजधानीवासीले राहातको महसुस गरेका थिए। फेरि बन्द हुने भएपछि केही समय पानीको समस्या खेप्नुपर्ने भएको छ। बर्खामा बन्द हुने भएकाले हिउँदमा जस्तो समस्या नहुने खानेपानीका अधिकारीहरुको भनाइ छ। बर्खामा केयुकेएलले १४ करोड लिटरसम्म पानी वितरण गर्छ। हिउँदमा स्रोत सुक्ने भएकाले करिब ९ करोड लिटर मात्रै वितरण गर्छ।

प्रतिक्रिया दिनुहोस्