बिहीबारदेखि शनिबारसम्म बाढी पहिरोको उच्च जोखिम,भारी बर्षा हुने
काठमाडौं,२४ असार । आगामी बिहीबारदेखि शनिबारसम्म बाढीपहिराको जोखिम बढ्ने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजीक रहने भएकाले बिहीबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय भई बाढीपहिराको जोखिम बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए ।
मनसुन सक्रिय भएसँगै नेपालका धेरैजसो स्थानमा लगातार वर्षाका साथै तराई र पहाडका केही भूभागमा भारी वर्षासमेत हुने बताइएको छ ।
तराईका भूभागमा पानीको बहाव बढ्ने र पहाडमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । त्यस्तै बाढी पूर्वानुमान महाशाखाले प्रदेश १ र २ का तराईका भूभागमा बढीको जोखिम बढी हुने जनाएको छ । ती क्षेत्रमा पूर्वतयारीमा जुट्न सबैमा आग्रह गरिएको छ ।