‘सरकारसंग बार्ता भैरहेको छ,आइतबारबाट यातायात चल्दैन’- महासंघ
काठमाडौं, २० असार । यातायात व्यवसायीले आइतबारबाट सार्वजनिक यातायात खुल्ने भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन्।

शनिबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग छलफल भइरहेकाले आइतबारबाट नै सार्वजनिक यातायात चल्ने कुरा झुटो भएको स्पष्ट पारेको छ ।
शुक्रबारदेखि सामाजिक सञ्जाल र केही अनलाइन मिडियामा आइतबारदेखि व्यवसायीले सरकारको अवज्ञा गरेर सार्वजनिक सवारी सधान सञ्चालनमा ल्याउने समाचार आएको थियो।
महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले केही सञ्चारमाध्यममा असार २१ देखि यातायात व्यवसायी महासंघले आन्दोलन गर्ने भन्ने झुटो भएको बताउँदै भने, ‘व्यवसायीले कुनै योजनाविना यातायात सञ्चालन गछौं भनेर हुँदैन। सरकारसँग छलफल गरेर समझदारीमा चल्नुपर्छ।’
महासंघका महासचिव सरोज सिटौलाले असार २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्ने भन्ने सुन्नमा आएपनि महासंघले यसबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् ।
‘महासंघले सार्वजनिक यातायात सञ्चालन गर्नेबारे मजदूर, व्यवसायी र सरकारसँग निरन्तर औपचारिक तथा अनौपचारिक रुपमा वार्ता र सम्वाद गरिरहेको छ,’ उनले भनेका छन् ‘नेपालमा सार्वजनिक यातायात सञ्चालन गर्नेबारे महासंघले चाँडै नै सरोकारवाला निकायसँग बैठक बसेर निर्णय गर्छ।’
सिटौलाले नेपाल सरकारलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ साथै मजदूर ट्रेड युनियन समेतले पटक–पटक मौखित तथा लिखित लकडाउनबाट परेको क्षति र असर तथा लकडाउन खुकुलो बनाउने सम्बन्धमा समेत राय सुझाव सबै दिइसकेको अवस्थामा सरकारले सार्वजनिक यातायात सञ्चालनका लागि कुनै प्रष्ट योजना नबनाएको आरोप लगाएका छन् ।
‘सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा यातायात व्यवसायी, मजदूर र यात्रुलाई परेको समस्याप्रति सरकार गम्भीर हुनुपर्छ। व्यवसायी, मजदूर र यात्रुलाई परेको मर्काप्रति संवेदनशील बन्दै धैर्य रहन आग्रह गर्दछु,’ उनले भनेका छन्।
यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालनको लागि भन्दै कार्यविधि बनाए पनि व्यवहारिक नभएको भन्दै व्यवसायीले आपत्ति जनाएका छन्। विभागले बनाएको कार्यविधिअनुसार सार्वजनिक यातायात सञ्चालन गर्ने अवस्था नभएको स्पष्ट पारेका छन्।
भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले यातायात सञ्चालनका लागि सरोकारवाला पक्षसँग छलफल गरिरहेको भए पनि कुनै निष्कर्षमा पुग्न सकेको छैन।
महासंघले सार्वजनिक यातायातमा करिब १० खर्ब लगानी रहेको र त्यसको करिब ६० प्रतिशत बैकको कर्जा लगानी भएको बताएका छन्। सार्वजनिक यातायात ठप्प रहदाँ प्रत्यक्ष रोजगारीमा रहेका करिब १० लाख मानिस प्रभावित भएको महासंघले बताएको छ।