बीपीको विचार आज पनि नेपाललाई सही दिशामा अघि बढाउन मार्गदर्शक : कांग्रेस केन्द्रीय सदस्य शेर्पा
ओखलढुंगा, ७ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले जननेता बीपी कोइरालाले प्रतिपादन गरेका लोकतन्त्र,राष्ट्रियता र समाजवादका आदर्श आज पनि मुलुकलाई सही दिशामा अघि बढाउने मार्गदर्शक सिद्धान्त रहेको बताएका छन्।

नेपाली कांग्रेस ओखलढुंगा जिल्ला कार्यसमितिले आयोजना गरेको ४४औँ बीपी स्मृति दिवस, ‘जरा अभियान’ समापन तथा अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै शेर्पाले कांग्रेसले बीपीको विचारलाई व्यवहारमा उतार्दै जनतासँगको सम्बन्ध अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए। उनले पार्टीको संगठन सुदृढीकरण, लोकतान्त्रिक मूल्य–मान्यता र जनविश्वासलाई अझ मजबुत बनाउने दिशामा सबै नेता–कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्ने बताए।
उनले नेपाली काङ्रेस्स एक नभए मुलुकको लोकतन्त्र संकटमा पर्ने खतरा रहेकोले सबै तिक्ततालाई बिर्सेर काङ्ग्रेस एक हुनुपर्ने बत्ताएका थिए ।
कार्यक्रममा संविधानसभा सदस्य तथा कांग्रेस नेता रामहरि खतिवडा, नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व केन्द्रीय अध्यक्ष तथा कांग्रेस नेता खिला दाहाल, नेकपा (एमाले) ओखलढुंगाका जिल्ला संयोजक हर्कबोल राई, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला उपाध्यक्षलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्दै बीपी कोइरालाको राजनीतिक योगदानको चर्चा गरेका थिए।
वक्ताहरूले लोकतान्त्रिक संस्कार, राष्ट्रिय एकता र सहकार्यको भावनालाई बलियो बनाउँदै समृद्ध नेपाल निर्माणमा सबै राजनीतिक शक्तिहरूबीच संवाद र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
नेपाली कांग्रेस ओखलढुंगा जिल्ला सभापति तेजेन्द्र खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्लाभरबाट कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा ‘जरा अभियान’को समापन गर्दै संगठन विस्तार, पार्टीलाई जनस्तरसँग थप जोड्ने अभियान र समसामयिक राजनीतिक विषयमा अन्तरक्रिया समेत गरिएको थियो।

