धमाधम विद्यालय सन्चालनमा ल्याउंदै सोलुखुम्बुका स्थानीय तह

सोलुखुम्बु। कोभिड-१९ को दोश्रो भेरियण्ट केहि मत्थर भएपछि जिल्लाका स्थानीय तहहरुले विद्यार्थी हरुको भौतिक उपस्तिथिमै क्रमशः विद्यालय सन्चालनमा ल्याउन थालेका छन् ।

गत चैत यता पठनपाठन अवरुद्ध भएपछि शैक्षिक सत्र त्यत्तिकै खेर जाने चिन्ता बढी रहेका बेला स्वास्थ्य मापदण्डको पूर्णपालना सहित विद्यालय सन्चालनमा ल्याईएको जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्डका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो। नगरपालिकाले ११ वटै वडामा आइतबारबाट विद्यालय सन्चालनमा ल्याएको हो।
नगरपालिकाका सल्लेरी,गार्मा,तिङ्ला र केरुङबाहेकका क्षेत्रमा विद्यार्थीहरुको चाप नभएका कारण दुरी कायम गरेर विद्यालय सन्चालनका लागि सहज भएको प्रमुख शेर्पाले भनाई छ।विद्यार्थी चाप रहेका विद्यालयहरुमा संख्याका आधारमा सिफ्टवाइज विद्यालय सन्चालन गरिएको पनि वहाँले जानकारी दिनुभयो।तोकिएका स्वास्थ्य मापदण्ड पुरा गरि कक्षा सञ्चालन गर्न सबै विद्यालयलाई नगरपालिकाले आग्रह समेत गरेको छ।
उता थुलुङ दुधकोशी गाउँपालिकाले भाद्र २७ गतेदेखि विद्यालय सन्चालनमा ल्याउने भएको छ। डब्लुएचओले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गरी विद्यार्थीको भौतिक उपस्थितीमा कक्षा सन्चालन गर्ने तयारी भइ रहेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो।
विद्यालय सन्चालनका लागि अभिभावक र विद्यार्थीहरुसंग आवश्यक समन्वय गरी आफ्नो आवश्यक तयारी गर्न विद्यालय प्रशासनलाई निर्देशन दिइ सकिएको पनि वहाँले बताउनुभयो।
जिल्लाकै सोताङ गाउँपालिकाले भने भदौ १५ गतेबाट नै विद्यालय सन्चालनमा ल्याईसकेको छ।आवश्यक स्वास्थ्य मापदण्डको पालनासहित गाउँपालिका भित्रका सबै विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्तिथिमै कक्षा सन्चालन सुरु गरिएको गाउँपालिका अध्यक्ष बीरबहादुर राईले जानकारी दिनुभएको थियो।गाउँ शिक्षा समितिले सर्बपक्षीय बैठकको आयोजना गरि विद्यालय सन्चालनमा ल्याउने निर्णय गरिएको वहाँको भनाई थियो ।
यसैगरी,गाउँपालिकाको शिक्षा समितिको औपचारिक निर्णय बिना नै नेचासल्यान गाउँपालिका वडा नम्बर २ ले पनि भदौ २० बाट स्वास्थ्य मापदण्ड पालनासहित विद्यालय सन्चालनमा ल्याएको बताईएको छ।
तर सोहि गाउँपालिकाका अन्य वडाहरुमा भने गाउँपालिका शिक्षा समितिको निर्णय अनुसार बैकल्पिक बिधिबाटै कक्षा सन्चालन भइरहेको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो।कोरोना संक्रमितको संख्या घट्दै गएको र यही अवस्था कायम रहे असोज १ गतेदेखि विद्यालय सन्चालन गर्ने कि भन्ने ढंगले कुरा अगाडी बढेपनि अहिले नै यसै भन्न नसकिने वहाँको भनाई छ।
सरोकारवालाहरुसंगको छलफलपछि गाउँपालिका शिक्षा समितिको बैठकले यस सन्दर्भमा औपचारिक निर्णय गर्ने अध्यक्ष बांस्तोलाले बताउनुभयो।

