पेपर लिकविरुद्ध कडा सजायको व्यवस्था गर्ने नयाँ कानुन ल्याउने मोदीको घोषणा
काठमाडौं,८ साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार मध्यराति पेपर लिकविरुद्ध कडा सजायको व्यवस्था गर्ने नयाँ कानुन ल्याइने घोषणा गरेका छन्। यससम्बन्धी मस्यौदामाथि शुक्रबार मन्त्रिपरिषद् बैठकमा छलफल हुने र स्वीकृतिपछि आगामी साता संसद्मा प्रस्तुत गरिने उनले बताएका छन्। कानुनलाई सकेसम्म छिटो पारित गराउने सरकारको तयारी छ।

मोदीले राति १२ बजे आफ्नो एक्स अकाउन्टमार्फत् २ मिनेट ५६ सेकेन्डको भिडियो सन्देश सार्वजनिक गर्दै पेपर लिक सामान्य विषय नभएको बताए। ‘यो लाखौं विद्यार्थी र उनीहरूका अभिभावकका लागि अत्यन्त पीडादायी विषय हो,’ उनले भनेका छन्।
विगत साढे दुई महिनामा दोषीहरूलाई पक्राउ गरी जेल पठाइएको र विद्यार्थीहरूको शैक्षिक वर्ष खेर जान नदिन छोटो समयमै २२ लाख विद्यार्थीको परीक्षा गराइएको उनले जानकारी दिए। उक्त परीक्षाको नतिजा जुलाई १९ मा सार्वजनिक गरिएको पनि उनले उल्लेख गरे।

