सरकार वा पार्टीको बचाउ गर्ने नाममा मानवीय मूल्यलाई अवमूल्यन नगर्न रास्वपा सांसद कार्कीको आग्रह
काठमाडौँ,२६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले नियमभन्दा मानवीय जीवन र संवेदनशीलता ठूलो हुने उल्लेख गर्दै सरकार वा पार्टीको बचाउ गर्ने नाममा मानवीय मूल्यलाई अवमूल्यन नगर्न आग्रह गरेका छन् ।

मुलुकमा विद्यमान नियम-कानुनको पालना र नागरिकको भोगाइबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्बजनिक गर्दै सो कुरा बताएका छन् ।नियम मानिसका लागि बनेको प्रष्ट पार्दै सांसद कार्कीले नियम पालना गर्दा नै नागरिकलाई असह्य अवस्था सिर्जना हुन्छ भने त्यस्ता नियममाथि पुनर्विचार हुनुपर्ने धारणा राखेका छन्। “एउटा मान्छेले नियम मान्दा अरूको अधिकार कटौती हुने भएकाले त्यसलाई कसुर मानेर सजाय तोकिएको हो,” उनले भनेका छन्, “नियम मान्दा मान्छेलाई गाह्रो हुन्छ भने, नियम मान्नुभन्दा मर्न सजिलो हुन्छ भने, या त नियम पुनरावलोकन गरिनुपर्छ, या त नियमका बारेमा मान्छेलाई बुझाउन अझ बढी मिहिनेत गर्नुपर्छ।”
मान्छे र नियममध्ये कुन रोज्ने भन्ने प्रश्न नै मूर्खतापूर्ण भएको टिप्पणी गर्दै उनले आफूले सधैँ मान्छे र मानवीय जीवनलाई नै रोज्ने स्पष्ट पारेका छन्। कार्कीले रास्वपा र सरकारका समर्थकहरूलाई लक्षित गर्दै राजनीतिक स्वार्थ, सरकार वा दल जोगाउने बहानामा मानवीय क्षतिलाई न्यायसङ्गत देखाउने प्रयास नगर्न सचेत गराएका छन्। उनले लेखेका छन्, “प्रिय रास्वपाका र सरकारका समर्थकहरू, सरकार र पार्टी जोगाउन मान्छेको ज्यानभन्दा भारी तर्क नगरौँ ल।”
मुलुकको गम्भीर मानसिक स्वास्थ्य र सामाजिक अवस्थाप्रति ध्यानाकर्षण गराउँदै सांसद कार्कीले नेपालमा दैनिक औसत १८ जनाले आत्महत्या गर्ने गरेको दर्दनाक तथ्य स्मरण गराएका छन्। आत्महत्याको पछाडि मानसिक समस्या वा आवेग मुख्य कारण रहने उल्लेख गर्दै उनले यस्ता समस्यालाई संवाद, सचेतना र आपसी सहयोगमार्फत न्यूनीकरण गर्न सकिने बताएका छन्।
राज्य र समाजले नागरिकका यस्ता गम्भीर मुद्दामा ध्यान दिनुपर्ने भन्दै कार्कीले आत्महत्या रोकथामका विषयमा बढीभन्दा बढी कुराकानी गर्न र जानकारी बाँड्न सरोकारवाला सबैसँग आग्रह गरेका छन्।

