पत्रकारहरु ओर्लिए सडकमा,पेशागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग



काठमाडौं, १९ असार । सञ्चारकर्मीको पेशागत सुरक्षाको माग गर्दै नेपाल पत्रकार महासंघको अगुवाइमा सञ्चारकर्मीहरुले विरोध प्रदर्शन गरेका छन्। शुक्रबार काठमाडौंको बबरमहलमा विरोध प्रदर्शन भएको हो।

कोरोना भाइरस संक्रमण शुरु भएसँगै सञ्चारकर्मीलाई बिदामा राख्ने, प्रकाशन बन्द गर्ने, तोकिएको पारिश्रमिक नदिने तथा काममा खटिएका सञ्चारकर्मीलाई नियमित पारिश्रमिक नदिएकोमा महासंघले विरोध गरेको छ। प्रदर्शनमा सम्बोधन गर्ने महासंघका अध्यक्ष, पूर्व अध्यक्ष र श्रमजिवी पत्रकारका विभिन्न संगठनका प्रतिनिधिहरुले श्रमजीवी पत्रकार ऐन लागू गर्न र पेसागत सुरक्षाको ग्यारेण्टीको माग गरेका थिए।

विभिन्न सञ्चारगृहमा सञ्चारकर्मीहरुलाई काम गर्ने वातावरण नदिएको, हतोत्साहित बनाउने र भुक्तानी गर्न बाँकी पारिश्रमिक समेत नदिई कामविहीन बनाएको उजुरी आएको बताउँदै महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चारगृहहरुले आफ्नो कमजोरी नसुधारे सम्बन्धित सञ्चार गृह केन्द्रित आन्दोलन अगाडि बढाउने चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्