सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि सशस्त्र प्रहरीद्वारा काठमाडौँ उपत्यकाभित्र निःशुल्क बस सञ्चालन



काठमाडौँ,३ कार्तिक । सशस्त्र प्रहरी बल, नेपालले दशैँको अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि २ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ ।

दशैँको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधनहरू अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकहरूलाई आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल, नेपालद्वारा यो निःशुल्क बस सेवा सञ्चालन गरिएको हो ।

सशस्त्र प्रहरी बल, नेपालले उपत्यकाभित्र सञ्चालन गर्ने सो निःशुल्क बस सेवा आजबाट लगातार ३ दिन , बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ । काठमाडौँ उपत्यकामा सञ्चालन गरिने बसहरूमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर,नयाँ बसपार्क,हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।

दशैँको समयमा सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै नागरिकलाई सहज यात्राको सुविधा दिलाउन सशस्त्र प्रहरी बल, नेपालले निरन्तर निःशुल्क बसको सेवा सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्