नवरात्रको नवौँ दिन आज : काठमाडौँ उपत्यकासहित देशका प्रमुख शक्तिपीठहरुमा भक्तजनको घुइँचो
काठमाडौँ,३ कार्तिक । नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकासहित देशका प्रमुख शक्तिपीठ एवं देवी मन्दिरहरूमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति रहेको छ। तिथि वृद्धि भएका कारण आज पनि महाअष्टमी मान्दै श्रद्धालुहरू पूजाआजाका लागि शक्तिपीठहरूमा पुगेका हुन्।

काठमाडौँ उपत्यकाभित्रका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, तलेजु भवानी तथा टोखा चण्डेश्वरीलगायतका देवीस्थानहरूमा दर्शनार्थीको ठूलो भीड लागेको छ। सर्वसाधारणको सहज दर्शनका लागि शक्तिपीठहरूलाई ध्वजापताका र बत्तीले भव्य रूपमा सिँगारिएको छ।
उपत्यका नजिकैको दक्षिणकालीका साथै देशका विभिन्न भागमा रहेका प्रसिद्ध धार्मिक स्थलहरू—गोरखाको मनकामना, ताप्लेजुङको पाथीभरा, ललितपुरको बगलामुखी, पोखराको विन्ध्यवासिनी, काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, जुम्लाको चन्दननाथ, डोटीको शैलेश्वरी, डडेलधुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी, नेपालगञ्जको वागीश्वरी, सप्तरीको छिन्नमस्ता र राजदेवी, धनकुटाको जाल्पादेवी, धरानको दन्तकाली तथा बाराको गढीमाईमा समेत बिहानैदेखि लाइन बसेर भक्तजनले पूजापाठ गरिरहेका छन्।
शारदीय नवरात्रका अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने र शक्ति प्राप्त हुने जनविश्वास रहँदै आएको छ।


