शिक्षा शाखामा काजमा खटाईएका शिक्षकलाई विद्यालयमा फर्काउन शिक्षा समन्वय इकाईको पत्र
सोलुखुम्बु।शिक्षा बिकास तथा समन्वय इकाई सोलुखुम्बुले स्थानीय तहको शिक्षा शाखामा काजमा खटाईएका शिक्षकहरुलाई सम्बन्धित विद्यालयमा फर्काउन निर्देशन दिएको छ।

समन्वय इकाई प्रमुख पुण्यराज डंगोलले सोमबार स्थानीय तहहरुलाई पत्र लेख्दै त्यस्तो निर्देशन दिएका हुन्।’केहि स्थानीय तहले शिक्षक सेवाका कर्मचारी हुंँदाहुंँदै वा पदपूर्तिका लागि लोक सेवामा नमागी सट्टा शिक्षक राखेर शिक्षा शाखाको काजमा खटाईको भन्दै आवश्यक छानबिन गरि अबिलम्ब शिक्षकहरुलाई सम्बन्धित विद्यालयमा फिर्ता पठाउन लेखी आएको हुंदा आदेशानुसार अनुरोध गर्दछु’ -समन्वय इकाई प्रमुख डंगोलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जेठ ३ गतेको पत्र र शिक्षा तथा मानव श्रोत केन्द्र सानोठिमीको जेठ १४ गतेको पत्र अनुसार निर्देशन जारी गरिएको पनि पत्रमा जनाईएको छ।
सोलुखुम्बुमा सोलुदुधकुण्ड नगरपालिका,नेचासल्यान र लिखुपिके गाउँपालिकाले गाउँपालिकाको शिक्षा शाखामा शिक्षकहरुलाई काजमा खटाएका छन्।सो कार्यको स्थानीयस्तरमा समेत तीब्र बिरोध भइरहेको छ।

