शरद ऋतु (बाल कविता)



*चन्द्रदेव भट्ट

असोज र कार्तिकमा हिलो मैलो हटदा।
खुसियाली छाईदिन्छ शरद ऋतु आउँदा।
श्राद्ध हरु पर्नाले शरद ऋतु नाम।
पूजा हुन्छ पितृकोअति उत्तम काम।

खुल्ला हुन्छ वरिपरि हट्छन धेरै झाडी।
लिपिपोति शुद्ध हुन्छ आँगन घरबारी।
पितृहरू वर्ष दिनमा घर फर्की आउँछन्।
दान पिण्ड खाएर आशीर्वाद दिन्छन्।

वातावरण स्वच्छ सफा यो ऋतुमा हुने।
पशुपन्छी मानिस आदी सबको मन रम्ने।
नत गर्मी न त जाडो मौसम सधैं ठिक्क ।
सुखमय जीवन हुन्छ रति छैन दिक्क।

चाडपर्व यो ऋतुमा पर्छन् अलि बढी
हर्ष उल्लास छाइदिन्छ छैन कुनै कमि।
दशैं तिहार ठूला चाड यो ऋतुमा पर्ने।
दाजुभाई आफन्तजन भेटघाट पनि हुने ।

साथी भाइ मिलिजुली उडाउँछौं चङ्गा।
झै झगडा गर्दैनौ मनमा छैन शंका।
रातो नीलो चङ्गा हरु आकाशमा उड्ने।
सानो भए खेलौना त्यो रिमोटले गुड्ने।

नवदुर्गाको पूजा हुन्छ बडा दसैँमा।
असत्य लाई सत्य जित्छ खुसी मनैमा।
तिहार पनि महान चाड भाइटीका हुन्छ।
गाई गोरु कुकुर काग सबको पूजा हुन्छ।
धानका बाला लहलह खेतै भरी झुल्छ।
किसानको भाग्य पनि यहि ऋतुमा खुल्छ।
गोदावरी मखमली आदि फूल फुल्छन्
बालक बृद्ध सबै जना यै ऋतुमा रम्छन्।

*प्रक्षिक्षक, एक्सन फर नेपाल

प्रतिक्रिया दिनुहोस्