दसैँका अवसरमा प्रहरीले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट ३ हजार ५ सय बढी नागरिकले लिए सेवा



काठमाडौँ,५ कार्तिक । दसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा सञ्चालन गरेका निःशुल्क बस सेवाबाट ३ हजार ५८५ जना नागरिक लाभान्वित भएका छन् ।

दसैँका बेला सार्वजनिक सवारीसाधनको अभाव र यात्रुको चापलाई ध्यानमा राख्दै दुवै सुरक्षा निकायले सञ्चालन गरेका निःशुल्क बस सेवाले सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गरेको छ । नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट १ हजार ४०६ जना नागरिक लाभान्वित भएका नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार यही कात्तिक ३ गते महानवमी र कात्तिक ४ गते विजयादशमीका दिन उपत्यकामा तीन वटा बस निःशुल्क सञ्चालन गरिएका थिए । महानवमीका दिन ५१० जना र विजयादशमीका दिन ८९६ जना नागरिकले उक्त सेवा लिएका थिए ।

यसैगरी, सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट बुधबारसम्म २ हजार १७९ जना सर्वसाधारण लाभान्वित भएका छन् । सशस्त्र प्रहरीले गत सोमबारदेखि दुई वटा बसमार्फत सञ्चालन गरेको सेवा भोलि शुक्रबारसम्म जारी रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्