जनजागृति मा.वि ले सुरक्षा सामाग्रीसहितको बैकल्पिक सिकाइ सहजीकरण कार्यक्रम सञ्चालन गर्ने



धादिङ, असार ५
वागमती प्रदेश, धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं ६ स्थित जनजागृति माध्यमिक विद्यालयले २०७७ साल असार ७ गते आइतबारबाट लागू हुने गरी सरकारले भर्खरै प्रकाशित गरेको बैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम विद्यालयको सेवाक्षेत्रभित्र सुरक्षा सामाग्रीसहित ३० वटा केन्द्र तय गरी सिकाइ सहजीकरण गर्ने भएको छ ।
विद्यालयको सेवा क्षेत्र अन्तर्गत वडा नं ६ मा १२ वटा, वडा नं २ मा १० वटा, वडा नं ७ मा २ वटा, वडा नं १० मा १ वटा र वडा नं ११ मा ५ वटा गरी जम्मा ३० वटा सिकाइ सहजीकरण केन्द्र निर्धारण गरिएको विद्यालयका प्रधानाध्यापक लावण प्रसाद फुयलले जानकारी दिनुभयो । विद्यालयले प्रारम्भिक चरणको कार्यक्रम अन्तर्गत एक हप्ताको लागि भर्ना हुन बाँकी विद्यार्थीहरुको भर्ना गर्ने, पाठ्यपुस्तक प्राप्त नगरेका विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउने, विद्यार्थी एवम् अभिभावकहरुलाई कोरोना संक्रमण रोकथाम तथा सुरक्षाका उपायहरुको बारेमा सचेतीकरण गर्ने र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट हाल सञ्चालन गरिएका रेडियो, टेलिभिजन तथा अनलाइन कक्षाका बारेमा जानकारी गराउने र अर्को चरणमा उक्त केन्द्रको पूर्ण व्यवस्थापन गरी नियमित रुपमा शिक्षण सिकाइ क्रियाकलापको सहजीकरण गरिने प्रधानाध्यापक फुयलले वताउनुभयो ।
सिकाइ सहजीकरणमा विद्यार्थी, अभिभावक तथा शिक्षकको सुरक्षाको लागि सबै केन्द्रमा अनिवार्य रुपमा सामाजिक दूरी कायम गराइने, सावुन पानी तथा स्यानिटाइजरको समूचित प्रयोग गराइने छ । उक्त सुरक्षा सामाग्री व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी स्थानीय सहयोगी संस्था चन्द्रज्योति एकीकृत ग्रामीण विकास समाज (सिर्डस्) नेपाल, धादिङले लिने संस्थाका अध्यक्ष माधव प्रसाद खतिवडाले बताउनुभयो ।
विद्यालयले प्रत्येक केन्द्रमा सिकाइ सहजीकरणको लागि खटिने सम्पूर्ण शिक्षकहरुको कोरोना सुरक्षा बीमासमेत गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण रुपाखेतीले वताउनुभयो । विद्यालयले विद्यालयका पूर्व विद्यार्थीलाई समेत उक्त सहजीकरण कार्यक्रममा स्वयंसेवकको रुपमा परिचालन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्