स्वयमसेवक संघद्वारा एक लाखभन्दा बढीलाई निःशुल्क खाना वितरण



काठमाडौं २ असार । लकडाउनका कारण समस्यामा परेका नागरिकलाई लकडाउनको भोलिबाट निरन्तर खाना खुवाउन सुरु गरेको स्वयंसेवक संघले सो कार्यलाई अझै निरन्तरता दिइरहेको अध्यक्ष सन्तोष निरौलाले बताएका छन।
सामाजिक सेवा गर्ने उद्देश्यले ५ वर्ष अघि स्थापना गरिएको संघले भक्तपुर नगरपालिकाको क्यान्सर अस्पताल, नयाँ ठिमी चौक, सूर्यविनायक चौक र कोटेश्वरमा बिहान बेलुकै खाना वितरण गरिएको निरौलाले जनाए । कोरोना भाइरसको त्रासका कारण सुरु भएको लकडाउनले मानिसको दैनिकी अस्तव्यस्त भएकाले समस्यामा परेकालाई खाना खुवाइएको उनको भनाई छ । हामीले अहिलेसम्म निरन्तर सेवा उपलव्ध गराएका छौं भन्ने उनले आफूले काम गरेपनि अहिलेसम्म खासै चर्चा नगरिएको जनाएका छन् । अबको परिस्थिति हेरेर नयाँ निर्णय गरिने उपाध्यक्ष मोहन गमालले बताए । गमालले लकडाउन केही खुकुलो भएपनि मानिसको दैनिकी सहज नभएकाले सेवालाई निरन्तरता दिएको जनाएका छन् । यो सामाजिक काम भएकाले आफ्नो जिम्मेवारी पूरा गरेको गमालको भनाई छ ।


अभियानमा विभिन्न व्यक्ति र संस्थाले सहयोग गरेका छन् । सुरुमा संघले प्याकेटमा खाना खुवाएको थियो । संघले केही पछि भने बाहिर नै खाना पकाएर लगेको थियो । खाना लाने क्रममा कतै बालबालिका, बृद्धबृद्धा र असहाय नागरिक फेला परे भने त्यही गाडी रोकेर सेवा गरिएको गमालले उल्लेख गरेका छन् । संघले शिक्षण अस्पताल महाराजगञ्ज र गंगालाल अस्पताल बाँसबारीमा पनि अन्य संघसंस्थासँग समन्वय गरेर खाना खुवाएको थियो । गमालले अहिलेसम्म १ लाखभन्दा बढीलाई सेवा गरिएको जनाएका छन् ।
संघले सरकारले स्थानीय तहसँग समन्वय गरेर राहत वितरण गर्न भनेकामा असन्तुष्टि जनाएको छ । स्थानीय तहबाट मात्र राहत उपलव्ध गराउने भनेपछि पीडितले राहत नपाउने समस्या भएको अध्यक्ष निरौलाले बताएका छन् । संघले यसअघि भूकम्पबाट पीडित भएकालाई उपचारमा सहयोग गर्दै आवश्यक सहजीकरण पनि गरेको स्पष्ट पारेको छ । संघले विभिन्न ठाउँमा गएको बाढी पहिरोमा परेका नागरिकलाई पनि राहत वितरण गरिएको जनाएको छ ।
संघले आगामी दिनमा पनि सहयोग र समन्वय गर्ने प्रतिवद्धता जनाएको छ । संघले ५ सय जनालाई राहत स्वरुप चामल वितरण गरेको छ । केही चामल संकलन भइसकेकाले अब केही थप भएपछि फेरि चामल वितरण गर्ने अध्यक्ष निरौलाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्