जातीय विभेदविरुद्ध रक्तदान गरिने



काठमाडौं २५ जेठ । विजय घिमिरे विश्वकर्मा प्रतिष्ठानले जातीय विभेदविरुद्ध रक्तदान गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष विजय घिमिरे विश्वकर्माले मंगलबार चावहिल चोकमा वृहत रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको बताएका छन।

सगरमाथा आरोहीसमेत रहेका उनले दिउँसो १२ बजेबाट प्रहरी बिट पश्चिम रक्तदान गरिने जनाए । उनले रक्तदानजस्तो पूण्य र महान सामाजिक काममा सहभागी हुन सबैलाई आव्हान पनि गरेका छन् । रुकुममा भएको जातीय विभेदको घटनाले आफूहरुलाई पीडा परेको भन्दै उनले तत्काल दोषीलाई कारवाही गर्न र पीडितलाई न्याया दिन आग्रह गरेका छन् । जातीय विभेदको अन्त्य र समतामूलक समाजको स्थापना गर्न र त्यो घटनामा दोषीलाई हदैसम्मको कारवाही होस् भनेर पनि रक्तदान गरिएको उनको भनाई छ । सडक आन्दोलन, जुलुस र विरोध गर्नुभन्दा पनि सामाजिक रुपमा चेतना फैलियोस् भनेर फरक प्रकारको कार्यक्रमको आयोजना गरिएको उनले बताएका छन् । उनले रक्तदानका लागि ९८६२८६४११९ मा सम्पर्क गर्नसमेत अनुरोध गरेका छन् ।

रुकुमका नवराज विश्वकर्मा आफ्नी प्रेमिका लिन जेष्ठ १० गते जाजरकोटकी सुष्मा मल्लको घरमा जाँदा परिवार र गाउँले मिलेर विकसँग गएका साथीहरुलाई समेत कुटपीट गरी ६ जनाको हत्या गरेका थिए । दलित युवा भएको भन्दै उनीहरुले संयुक्त रुपमा आक्रमण गर्दा केही भेरी नदीमा परेका थिए । घटनामा अझै केही बेपत्ता भएका छन् । घटना निन्दनीय र हिंस्रक भएको भन्दै उनले न्याया दिन सबैले साथ दिनुपर्ने र समर्थन गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्