ने.रा.शि.संगठन धादिङ महिला विभागको भर्चुअल अनलाइन प्रशिक्षण सम्पन्न
लावण फुयल
धादिङ, जेठ २४ । नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङ महिला विभागले २०७७ जेठ १९ गतेदेखि सञ्चालन गरेको भर्चुअल अनलाइन प्रशिक्षण कार्यक्रमको आज समापन गरिएको छ । बन्दाबन्दीको समयलाई मध्यनजर गर्दै शिक्षकहरुको पेशागत क्षमता अभिवृद्दि र नेतृत्व क्षमता विकासको उद्देश्यका साथ सञ्चालन गरिएको उक्त कार्यक्रमको समापन सत्रको प्रमुख अतिथिको रुपमा रहनुभएका नेपाल राष्ट्रिय शिक्षक संगठन, राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माले बैकल्पिक सिकाइका सम्भावना र चुनौतिका विषयमा सहजीकरण समेत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले बन्दाबन्दीको समयमा शिक्षकहरु सुतिरहेको भन्ने अभिव्यक्तिको कडा प्रतिवाद गर्दै संगठनको राष्ट्रिय समिति, प्रदेश समित, जिल्ला समिति तथा स्थानीय समितिहरुले शिक्षकहरुले प्रविधिको प्रयोगमार्फत् आफ्नो पेशागत दक्षता अभिवृद्धि गरेको र वैकल्पिक सिकाइका लागि उपयुक्त विकल्पहरुको खोजी गरिरहेकोले बरु शिक्षकहरुमा थप जागरण र उर्जा प्राप्त भएको दावी गर्नुभयो ।
समापन समारोहमा संगठनआवद्ध राष्ट्रिय समिति, प्रदेश समिति, जिल्ला समिति र स्थानीय समितिका पदाधिकारीहरुले अवको बैकल्पिक सिकाइ सहजीकरण प्रणाली देशका सबै स्थान र विद्यार्थीको पहुँचको आधारमा कसरी सर्वसुलभ, व्यवस्थित र प्रभावकारी वनाउने भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । कार्यक्रलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति धादिङका अध्यक्ष ठान प्रसाद बस्यौलाले महिला विभाग धादिङको उक्त कार्यक्रम सफल तथा उपलब्धीमूलक रहेको र केही दिनभित्रै जिल्ला समिति धादिङले थप नयाँ विषयवस्तुसहितका अन्य कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिनुभयो । कार्यक्रमको अध्यक्षता ने.रा.शि.संगठन धादिङकी महिला उपाध्यक्ष तथा महिला विभाग प्रमुख देव कुमारी दनैले गर्नुभएको थियो भने सञ्चालन तथा व्यवस्थापन संगठनकै जिल्ला समिति सदस्य सरस पाण्डेले गर्नुभएको थियो ।