कोरोना परीक्षणको दायरा बढाउनु पर्नेमा सांसद राजभण्डारीको जोड
सोलुखुम्बु ,१८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) प्रदेश नं १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कोरोना भाइरस संक्रमण परीक्षणको दायरालाइ फराकिलो बनाउंदै जानु आजको आवश्यकता भएको बताएका छन।
प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थान केन्द्र विराटनगरले सोलुखुम्बुका लागि उपलब्ध गराएको स्वास्थ्य सामग्री आइतबार जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु लाई हस्तान्तरण गर्दै प्रमुख सचेतक राजभण्डारीले सो कुरा बताएका हुन।कोरोना परीक्षणका लागि आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध नहुंदा जिल्लामा संक्रमणको अवस्था अझै अन्यौलमा रहेको बताउंदै उनले यसलाई स्पष्ट पार्न तथा नागरिकमा देखिएको त्रासको बातावरणलाई हटाउन प्राप्त सामाग्रीको उचित प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए।
सो अवसरमा राजभण्डारीले प्रदेश १ सरकारको तर्फबाट जिल्लालाई प्राप्त भि।टी।एम। तथा स्वाब संकलन स्टिक १ सय ५० थान, पिपिई गाउन २ सय, पिपिई फुल सेट ६, N-95 मास्क १००,सर्जिकल मास्क २ हजार थान, चस्मा ५०, जाँचमा प्रयोग हुने जुत्ता, फेससिल्ड ,सु कभर , सर्जिकल क्याप ,ह्यन्ड सेनिटाइजर, पीपीइ फुलसेट लगायतका सामाग्री स्वास्थ्य कार्यालय प्रमुख रमेश खकुरेललाइ हस्तान्तरण गरेका थिए।जाँच सामाग्रीको आवश्यकता अझै पर्ने हुनाले त्यसका लागि आवश्यक पहल गर्ने उनले प्रतिबद्दता समेत जनाए।
सोलुखुम्बुमा हालैमात्र एकजना पुरुषमा कोरोना संक्रमण पोजेटिभ भेटिएको थियो।