सुनसरी झडप : सामाजिक एकता कायम गर्ने विषयमा सर्वपक्षीय सहमति
काठमाडौं,११ साउन । सुनसरीको देवानगञ्जमा भएको दुई समूहको झडपपछि उग्र बनेको अवस्था नियन्त्रण गर्दै सामाजिक एकता कायम गर्ने विषयमा सर्वपक्षीय सहमति भएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज सोमबार दिउँसो बसेको सर्वदलीय र सर्वपक्षीय बैठकमा सो सहमति जुटेको हो ।
बैठकले घटनालाई थप जटिल बन्न नदिन र गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई सहयोग गर्ने निर्णय पनि गरेको छ । बैठकमा राजनीतिक दल र जनप्रतिनिधिहरूले अफवाहबाट टाढा रहन र सुरक्षा निकायलाई सहयोग गर्न आफूहरु तयार रहेको पनि बताएका छन् ।सर्बपक्षीय सहमति र सडकमा सेना परिचालन भएपछि स्थिति सामान्य बन्दै जान थालेको छ।
आइतबार राति बोलबम यात्राका क्रममा डिजे बजाउने विषयमा भएको विवादले हिंसात्मक रूप लिँदा प्रहरीको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । झडपमा १३ जना सुरक्षाकर्मी र ९ जना सर्वसाधारण घाइते भएका छन् ।

