सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा पर्यटन पदमार्ग निर्माण
राज कुमार राई
काठमाण्डौं १८ जेठ । पर्यटन क्षेत्रको रुपमा अत्याधिक सम्भावना रहेको सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा पर्यटन पदमार्ग निर्माण कार्य सम्पन्न भएको छ । पर्यटन विकास आयोजना बिराटनगरको ५० लाख आर्थिक सहयोगमा सो पदमार्ग निमार्ण गरिएको हो ।

समुन्द्र सतहदेखि ४०१० मिटरको उचाईमा रहेको सो पदमार्गलाई गत सोमबार गाउँपालिका अध्यक्ष सागर किराँतीले विधिवट रुपमा उदघाटन गरेका थिए । महाकुलुङ गाउँपालिका वडा नं ३ स्थित १९८० मिटरको उचाई दुरेकोम देखि ४३२२ मिटर उचाईमा रहेको पाँचपोखरी सम्मको करिब १७ किलोमिटर पदमार्ग निमार्ण भएको छ । निर्माण उपभोक्ता समिति अध्यक्ष तथा समाजसेवी किशोर कुलुङको विशेष पहलमा सो गोरेटो निर्माण गरिएको स्थानीय मन बहादुर कुलुङले जानकारी दिए ।
गोरेटोलाई उदघाटन गर्दै गाउँपालिका अध्यक्ष सागर किराँतीले निर्माण उपभोक्ता समितिले उदाहरणीय काम गरेको भन्दै खुलेरै प्रशंसा गरेको पनि कुलुङले बताए । नयाँ पदमार्ग निर्माणले पर्यटन व्यावसायमा थप टेवा पुर्याउने विश्वास रहेको पनि किराँतीको भनाई रहेको कुलुङले जनाए । सो गोरेटोलाई उदघटन गर्न महाकुलुङ गाँउपालिका प्रमुख सागर किराँती, वडा नं ३ का अध्यक्ष डेक बहादुर राई,गाउँपालिका सब ईन्जिनियर नविन आचार्य,उपभोक्ता समिति अध्यक्ष किशोर कुलुङ,वडा नं ३ का प्राविधिक अमित मण्डल,छेस्काम स्वास्थ्य चौकी ईन्चार्ज कुमार पाण्डे, दिपेश कुलुङ लगायतका टोलीहरु पुगेका थिए ।
औपचारिक रुपमा गरिएको उदघाटन कार्यक्रममा , वडा नं ३ का अध्यक्ष डेक बहादुर राई र गाउँपालिका सब ईन्जिनियर नविन आचार्यले पनि मन्तव्य राखेका थिए । उनीहरु दुवैले कार्यक्रममा बोल्दै निमार्ण उपभोक्ता समितिले अहिले सम्मकै उत्कृष्ट र नमुना रुपी काम गरेको दावी गरेका छन् । निमार्ण उपभोक्ता समितिका अध्यक्ष किशोर कुलुङले बजेटको आकार अनुसार सुहाउदो र भरपर्दो रुपमा काम भई रहेको बताए । साथै पर्यटन विकास आयोजनासँग सम्झौता भएको समय सीमा भित्र नै काम सक्ने पनि उनले बताए ।
आफ्नो संयोजकत्वमा भई रहेको निर्माण कार्यको अनुगमन तथा मूल्याङ्कन गर्न पुगेका गाउँपालिका प्रमुख,वडा अध्यक्ष तथा प्राविधिक लगायत सबैजनालाई धन्यबाद दिन चाहेको पनि कुलुङले बताए ।
साथै कुलुङ भन्नुभयो परम्परागत रूपमा प्रयोग हुँदै आएको भीर जस्तो बाटो दुरेकोमदेखि पाँचपोखरी दोबाटोसम्म १७ किलोमिटर भन्दा बढी ढुङ्गाको स्टेप लगाई ऐतिहासिक पर्यटन पदमार्ग निर्माण गर्न बजेटको ब्यबस्थापन गर्नको लागि सहयोग गर्नुहुने सोलुखुम्बु माननीय ज्युहरू,१ न प्रदेश सरकार,पर्यटन विकास आयोजना, बिराटनगर , विशेष गरी आफ्नै काम सम्झी भोक तिर्खा नभनी खट्नुहुने २३५ जना गाउँले कामदारज्यूहरू र समितिका सम्पूर्ण साथीहरू एबम प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
यो पदमार्गले महाकुलुङको पर्यटन प्रबर्द्धन गर्न केही न केही इटा निश्चय पनि थप्ने नै छ भन्ने विश्वास लिएको छु ।