सोलुखुम्बु : कोरोना भित्रिन नदिन ब्यबस्थापन कार्ययोजना बनाइने



सोलुखुम्बु , ८ जेठ ।सरकारले बिदेश मा रहेका नागरिकहरुको उद्दार गर्ने तयारी भैरहेको बताइरहेका बेला जिल्ला समन्वय समिति सोलुखुम्बुले बिदेशबाट आउने नागरिकहरुलाइ स्वास्थ्य परीक्षणपछि मात्र जिल्ला पठाउन सरकारलाइ आग्रह गरेको छ।

जिल्ला समन्वय समिति सोलुखुम्बु को समन्वयमा स्थानीय तहका प्रमुखसहितको सर्बपक्षीय बैठकले सो निर्णय गरेको हो। कोरोना संक्रमण बिस्तारै समुदायमा सर्दै गएका कारण भारत तथा तेश्रो मुलुकवाट सोलुखुम्बु आउने व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरी कोरोना संक्रमित नभएका व्यक्तिलाई मात्रै जिल्ला पठाउन केन्द्र र प्रदेश सरकारसँग अनुरोध गरिएको जिल्ला समन्वय समितिका अध्यक्ष बीरकुमार राइले जानकारी दिए।

अध्यक्ष राइका अनुसार बैठकले नियमित रुपमा औषधी सेवन गरिरहेका बिरामीहरुलाई औषधीको अभाव हुन नदिन जिल्ला भित्रका सबै स्थानीय तहहरुले आवश्यक औषधीको विवरण र परिमाण उल्लेख गरी स्वास्थ्य कार्यालयमा प्रेषित गर्ने र स्वास्थ्य कार्यालयले औषधी खरिदको व्यवस्था मिलाई उपलब्ध गराउने, सोलुखुम्बुमा कोरोना संक्रमण भित्र नदिन कोरोना व्यवस्थापन कार्य योजना तयार गरी प्रभाबकारी रुपमा लागू गर्न जिल्लाका स्थानीय तहलाई अनुरोध गर्ने, कोरोना परिक्षण किट स्वास्थ्य कार्यालयले आवश्यक मात्रामा माग गरी परिक्षणको दायरा बिस्तार गर्ने निर्णय गरेको छ ।

जिल्लाका कतिपय गाउँपालिकामा मकै बालीमा देखिएको अमेरिकन फौजी किराको प्रकोप नियन्त्रणका लागि आवश्यक प्रबन्ध मिलाउन कृषि ज्ञान केन्द्रलाई अनुरोध गर्ने तथा सुरक्षा सतर्कतासहित बिकास आयोजना अगाडि बढाउने निर्णय समेत बैठकले गरेको अध्यक्ष राइले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्