फौजी किराको प्रकोपले नेचासल्यानको मकै खेती सखाप



खगिन्द्रराज बास्तोला,

सोलुखुम्बु , ५ जेठ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा प्रमुख खाद्यान्न बाली मकैमा अमेरिकन फौजी किराको प्रकोप बढेको छ । नेचासल्यान गाउँपालिकाको बेँशीगाउँ भदौरे, लखने, टारी, पोखरे, पहेले, गहते, खाल्डे, सिम्ले क्षेत्रमा उक्त किराले केही दिन अगाडिदेखि मकै बालीमा क्षति पुर्याउन थालेको हो ।

झुसिल्किराको लार्भा जस्तो देखिने सो किराले एकै रातमा सयौं रोपनी जग्गाको मकै नष्ट गराएको पाइन्छ । फौजी किराले खाएको मकैको पात ऐना जस्तो देखिने, छिद्राछिद्रा परेको, गुबो, डाँठ र फेदसम्म नै लार्भा र फुल हुनाले घरपालुवा पशुलाई समेत घाँसको रुपमा प्रयोग गर्न नमिल्ने हुने स्थानीय कृषक मोहन बास्तोलाको भनाइ छ ।
त्यसैगरी अर्का कृषक डन्डीकेशर कटेल खाधान्नको भण्डारको रुपमा चिनिने यस क्षेत्रमा यसैगरी सो किराको प्रकोप बढेमा अर्को वर्ष मकैको बिउँ समेत उत्पादन नहुनको साथै भोकमरीमा परिने सम्भावना रहेको गुनासो गर्छन् ।
सोलुखुम्बु नेचासल्यान गाउँपालिका भित्रका अधिकाश जमिनमा लगाइएको प्रमुख बाली मकैमा लागेको रोग नियन्त्रणमा समयैमै सम्बन्धित निकायको ध्यान जान नसकेको खण्डमा खाद्य संकट आई कृषि कार्यमा निरासा छाउने स्थानीय कृषकहरुको धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्