राहतको बिशेष प्याकेज ल्याउन डा। भट्टराईको माग



काठमाडौं २६ बैशाख । जनता समाजवादी पार्टीका सांसद डा. बाबुराम भट्टराईले राहतको विशेष प्याकेज ल्याउन माग गरेका छन् । उनले लकडाउनका कारण संसद बन्द भएपनि सांसदहरुले तलब भत्ता लिने तर श्रमिकहरुले उद्योगधन्दा बन्द हुँदा तलब नपाउने अवस्था आउनु लाजमर्दो भएको बताए ।

“हामीलाई लाज लाग्‍नुपर्दैन ? लकडाउनको बेलामा संसद बन्द गरेर बस्यौं । तपाईं हामीले पुरै तलब भत्ता खाने तर श्रमिकलेचाहीँ नपाउने ?,” भट्टराईको प्रश्न थियो ।
जर्मनमा बन्द भएका उद्योगका श्रमिकको सबै ज्याला सरकारले तिरिदिएको उदाहरण दिँदै उनले नेपालमा उद्यमीसँग कुरा गरेर सरकार र उद्योगीले ५०(५० दिएर पनि श्रमिकको पेट पाल्न सक्नुपर्ने बताए ।

त्यस्तै, उनले करिब ६४ लाख विद्यार्थीहरु लकडाउनमा रहेको भन्दै लामो समय लकडाउनमा बस्‍नुपर्दा समस्यामा रहेको बताए । उनले लकडाउन खुलेको भोलिपल्टै एसईई परिक्षा हुने भनेर शिक्षामन्त्रीले त्रसित बनाइरहेको भन्दै एसईईको परिक्षा लिन आवश्यक नभएको सुझाव पनि दिए ।

कोरोनाका कारण अबको अर्थतन्त्र विश्वव्यापीरुपमै प्रभावित हुने देखिएको भन्दै उनले अहिले दोस्रो विश्वयुद्धपछिकै ठूलो मन्दी हुने अवस्था देखिउको बताए ।

नेपालमा कोरोनाका कारण २ देखि ५ खर्ब नोक्सान हुने अस्थामा कसरी तयारी गर्ने, खाद्य अभावबाट जोगिन कृषिको पुनर्जागरण र देशमा रहेका बेरोजगार युवालाई रोजगारी दिने विषयमा गम्भीर छलफल हुनुपर्ने पनि उनको भनाई थियो

प्रतिक्रिया दिनुहोस्