३ सय ५० माप्यबासीलाइ काठमाडौंमा राहत



काठमाडौं, २६ बैशाख । सोलुखुम्बु जिल्लाको माप्यदुधकोसी गाउँपालिकाले लकडाउनका कारण समस्यामा परेका आफ्ना नागरिकहरुलाइ राजधानी काठमाडौंमा राहत बितरण सम्पन्न गरेको छ।
माप्यदुधकोसीबाट काठमाडौं आएर अध्ययनरत विद्यार्थी, दैनिक ज्यालादारी,मजदुर र अति बिपन्न परिवारलाई पालिकाको तर्फबाट उपलब्ध राहत बितरण गरिएको नेकपा माप्यदुधकोसी(काठमाडौं सम्पर्क आयोजक कमिटीका अध्यक्ष चन्द्र घिमिरेले जानकारी दिए।घिमिरेका अनुसार ब्यबहारिक कारणले घर फर्कन नसकेका पालिकाबासीलाइ उपलब्ध गराइएको सो राहत ३ सय ५० परिबारलाइ बितरण गरिएको थियो। राहत स्वरुप २५ केजीको एक बोरा चामल , दुई केजी दाल,एक लिटर खाने तेल र नुन बितरण गरिएको उनले बताए।


मंगलबारबाट सुरु गरिएको राहत बितरण बिहिवार सम्पन्न भएको बताइएको छ। प्रत्येक वडाबाट समुह बनाएर बितरण गरिएको सो राहत पालिकाबासीको डेरा( डेरामा पुर्याइएको माप्यदुधकोसी वडा नं १ का वडाध्यक्ष अगम कुमार राइले जानकारी दिए।राहत बितरणमा नेकपा जिल्ला कमिटी सोलुखुम्बुका सचिव कर्ज्याङ शेर्पा, सदस्यद्वयअर्जुन खालिङ र प्रकाश खालिङका साथै सम्पर्क आयोजक कमिटीका अन्य पदाधिकारी तथा सदस्यहरु संलग्न थिए।
कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले घोषणा गरेको लकडाउन लम्बिंदै गएपछि समस्यामा परेका झन्डै ६ सय पालिकाबासीलाइ माप्यले केहि दिन अघि मात्रै काठमाडौंबाट उद्दार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्