सोलुखुम्बु : राहत बितरणमा एकद्वार प्रणाली , ब्यक्तिगत राहत बितरणमा रोक



सोलुखुम्बु ११ बैशाख ।कोकोरोना संक्रमणका कारण सरकारले गरेको लक डाउनका कारण काठमाण्डौमा अत्यन्तै समस्यामा परेका जिल्लाबासीहरुलाइ सोलुखुम्बुका स्थानीय तहहरुले आवश्यक व्यवस्थापन गर्ने निर्णय भएको छ। जिल्ला समन्वय समितिको आयोजनामा बुधबार सम्पन्न बैठकले काठमाण्डौमा अत्यन्तै विपदमा परेकाहरुको तथ्यांक संकलन गरी उद्दार नगरी नहुने अवस्थाका मानिसहरुलाई आवश्यक पर्ने सम्पूर्ण स्वास्थ्य सुरक्षाको व्यवस्था अवलम्बन गरी सम्बन्धित स्थानीय तहहरुले सुरक्षा निकायहरुको सहजिकरणमा आवश्यक व्यवस्थापन गर्ने निर्णय गरेको निर्णय गरेको हो।

बैठकमा जिल्लाका संघीय सांसद हेमकुमार राई,प्रदेश सांसदहरु उत्तम बस्नेत र बुद्धिकुमार राजभण्डारी तथा विभिन्न स्थानीय तहका प्रमुख र प्रतिनिधिसहित प्रमुख जिल्ला अधिकारी र विभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। बैठकमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधीहरुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि हालसम्म भएका प्रयास तथा काठमाडौवाट आफ्नो गाउँ फर्कन चाहनेको सम्भावित संख्याबारे अवगत गराएको नेचासल्यान गाउँपालिका प्रमुख डुफकुमार बास्तोलाले जानकारी दिए। जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख बीरकुमार राइको अध्यक्षता सम्पन्न सो बैठकले स्थानीय तहले प्राथमिकतामा राखेका बिकास आयोजना सन्चालन गर्न दिने निर्णय गरेको छ। तर निर्माण गर्दा सामाजिक दुरी कायमलाई अनिवार्य गरिएको छ।

अत्यावश्यक निर्माण सामग्री ढुवानी सम्बन्धमा सामानको भ्याट/प्यान बिलको आधारमा मात्रै ढुवानी गर्न दिने बैठकको निर्णय छ। बैठकले व्यक्ति बिशेषले वितरण गरेको राहतलाई पूर्ण रुपमा रोक लगाउने र एकद्वार नीति अनुरुप सम्बन्धित स्थानीय तह मार्फत् मात्र राहत वितरण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

फोटो: मनोज श्रेष्ठ, सोलुखुम्बु समाचार

प्रतिक्रिया दिनुहोस्