सल्यानबासीको चिन्ता – बिजुलीका नाममा फेरि ठगिने भयो नेचा



डिल्ली शर्मा,

सोलुखुम्बु , ६ बैशाख ।जिल्लाको साविक सल्यान गाबिस वडा नं २ मा निर्मित त्रिबेणि लघु जलविद्युत आयोजना बिस्तारको बिषयले स्थानीयबासीहरु आक्रोशित बन्न पुगेका छन।समिति भित्र कुनै सरसल्लाह नगरी अध्यक्ष धन्जन राइको एकल निर्णयका आधारमा बिद्युत बिस्तार गरि साविक नेचा बेतघारीको वडा नं ४ र बतासेको वडा नं १ मा बिक्री गर्ने तयारी गरेपछि उनीहरू आक्रोशित बन्न पुगेका हुन।

गाबिस भित्रका १ हजार घर धुरीले उपभोग गर्ने गरि १० बर्ष अगाडि प्रतिपरिवार १२ हजार ५ सय रुपैयाँ र हप्तौं श्रमदान गरेका स्थानीय उपभोक्ताहरु न्याय खोज्दै यतिबेला नेचालसल्यान गाउंपालिका गुहार्न पुगेका छन्।शनिबार अपरान्ह पालिका पुगेका झन्डै एक दर्जन सल्यानबासीले अध्यक्ष डुफकुमार बास्तोलालाई भेटी ज्ञापनपत्र बुझाएका छन।ज्ञापनपत्रमा आम उपभोक्ताको हित बिपरित निहित राजनीतिक स्वार्थका लागि एकल निर्णयमार्फत विद्युत बिस्तार प्रक्रिया अघि बढाइए कडा संघर्षमा जान बाध्य हुने चेतावनी दिइएको छ।

बिद्युत बिस्तार प्रक्रिया सल्यानबासीको अहितमा मात्र छैन, यसले बिजुलीका नाममा नेचा एकपटक फेरि ठगिन लागेको भन्दै उनीहरूले चिन्तासमेत ब्यक्त गरेका छन।संघर्षमार्फत विद्युत बिक्रि प्रक्रिया रोक्न नसके कानुनी बाटो रोजेर भएपनि आमउपभोक्ताहरुको हित प्रबर्द्धन गर्ने प्रतिबद्धता समेत ज्ञापनपत्रपत्रमा व्यक्त गरिएको छ। त्यतिबेला १ हजार घरधुरीका लागि आयोजना अगाडी बढाइए पनि यसको आंशिक लाभ साविक वडा नं १ र २ का सिमित उपभोक्ता ले मात्रै लिइरहेका छन।यद्यपि संचालक समितिले विद्युत ब्यबस्थित गर्नेकुरामा ध्यान नदिंदा रातको समयमा मोबाईल चार्ज गर्ने अवस्था सम्म नरहेको उनीहरूको गुनासो छ।यस किसिमको दयनीय अवस्थामा विद्युत बिक्री गर्दा खरिद गर्नेहरूको उज्यालोमा बस्ने चाहना कसरी पूरा होला ? सल्यानकै उपभोक्ताहरु यतिबेला आश्चर्य प्रकट गरिरहेका छन। बिजुली को सन्तोसजनक उत्पादन नभएकै कारण साविक सल्यान गाबिसकै कुमालगाउं,भित्ते, केराबारी, जिब्ली, लेब्लु लगायतका स्थानहरु अझै विद्युतबिहिन छन।

यस्तो अवस्थामा नेचातिर प्रतिपरिवार ५ हजार ५ सयका दरले पैसा उठाएर ४/५ लाख अध्यक्ष धनजनलाई बुझाइएको छ भन्ने चर्चा सुनिरहेको छु, स्थानीय युबा कोषराज निरौला ले भने -“यो जनचाहना माथिको खेलवाड मात्रै हो, परिणाम राम्रो आउनेवाला छैन।” करेण्ट प्रवाह भइ मानबीय क्षति हुंदा समेत संचालक समितिले आयोजना लाई ब्यबस्थित बनाउनेतर्फ चासो नदेखाएको उपभोक्ताहरुको गुनासो छ।आयोजना सन्चालन भएको बर्षौं बितिसक्दा पनि उपभोक्ता ले मिटर बक्स प्राप्त गर्न सकेका छैनन् ।यी सबै अब्यबस्थाको ब्यबस्थापन गर्न छोडेर बिजुलि बिस्तारको कार्यतिर समिति लाग्नु हास्यास्पद भएको उनले बताए। उपभोग गरिरहेका उपभोक्ताहरुलाइ सेवाबाट सन्तुष्ट बनाएर विद्युत बिस्तारलाई अगाडी बढाउनु उत्तम हुने उनको भनाइ छ।

यो आयोजनाको क्षमता कति हो र यसले कति धान्नसक्छ भन्ने प्राबिधिक ज्ञानको अभावले पनि नेचाका साथीहरु हतारिएको भन्दै निरौलाले अन्ततः न्याउरी मारी पछुतोको नियति भोग्नुको बिकल्प नरहेको बताए। अहिले सन्चालित आयोजनाबाट उत्पादित बिजुलिले नधानेर गाङकु जलबिधुुतबाट बिधुत खरिद गरि सल्यानमै साना उधोगधन्दा सन्चालन हुँदै आएको यथार्थ नेचाबासीहरुले बुझ्नु पर्ने स्थानीय मनिकुमार राइले बताए। विद्युत बिस्तारको बिषयमा उत्पन्न यो बिबाद अत्यन्तै दुखदायी भएको नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले बताए।बिश्वब्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको न्यूनीकरणको बिषय हालका लागि प्रधान रहेको भन्दै उनले यसबाट मुक्त भएपछि अरु बिषयमा छलफल गर्नु उपयुक्त हुने बताए।

लकडाउनका कारण सामान आपूर्ति मा समस्या आएर निर्माण कार्य रोकिएको भएपनि नेचासल्यानबासीहरुले अँध्यारो बस्ने दिन छोटिंदै गएको उनले बताए।नेपाल विद्युत प्राधिकरणको सोलुबितरण केन्द्रले गैरी र सोलु करिडोरले रमितेबाट विद्युत बिस्तारको काम अगाडि बढाएकाले अब नेचासल्यानमात्र नभएर थुलुङ दुधकोशीमा पनि केही महिना भित्रै बिजुली बल्ने जानकारी अध्यक्ष बास्तोलाले दिए।गैरीमा ट्रान्सर्फमर जडान र वडा नं ५ मा हाइटेन्सन लाइन बिस्तार भैसकेको छ,कतिपय ठाउंमा लोटेन्सन लाइन बिस्तार गरेर त्यंहा बत्ती बाल्न मात्र बांकी हो, उनले भने – वडा नं २ र ३ का लागि सोलु बितरण केन्द्रले चैतमा टेन्डर खोल्ने तयारी थियो, लकडाउनका कारण त्यो रोकिएको छ।

लकडाउन खुल्ने बित्तिकै विद्युत बिस्तारको काम धमाधम हुने उनले बताए।अध्यक्ष बास्तोलाले टुइन्टार लघु जलविद्युत आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको भन्दै उनले नेचा सल्यानबासी कसैले पनि हतार गरेर बिजुलीका लागी पैसा उठाउनुपर्ने स्थिति नरेको बताए ।बिजुली बाल्ने उत्कट चाहनाका कारण नेचाबासीले यस अघि पनि आर्थिक क्षति ब्यहोर्नु परेको स्मरण गर्दै उनले अब बिजुलि बाल्नकै लागि लघुजलविद्युतमा लगानी गर्नु उपयुक्त नभएको स्पस्ट पारे।

( फोटो;केन्द्रिय प्रशारण लाइन बिस्तारका क्रममा नेचा सल्यान वडा नं ५ को गैरीमा नेपाल विद्युत प्राधिकरण सोलु बितरण केन्द्रले जडान गरेको ट्रान्सर्फमर )

प्रतिक्रिया दिनुहोस्