एनसेलले पायो १८ सय मेगाहर्जको ९ ब्याण्ड फ्रिक्वेन्सी



काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणले १८ सय मेगाहर्जको ९ ब्याण्ड फ्रिक्वेन्सी एनसेललाई दिने निर्णय गरेको छ । प्राधिकरणको शुक्रबार बसेको बोर्ड बैठकको निर्णयअनुसार एनसेलले अक्सनमार्फत पाएको फ्रिक्वेन्सी दिने निर्णय गरेको फ्रिक्वेन्सी महाशाखाका प्रमुख निर्देशक अम्बर स्थापितले जानकारी दिए ।
लाभकर विवादका कारण रोकिएको फ्रिक्वेन्सी सार्वजनिक लेखा समितिको निर्णय र निर्देशन बमोजिम एनसेललाई दिने निर्णय भएको स्थापितले बताए । ‘एनसेलले मागे बमोजिम ९ ब्याण्ड नै दिने निर्णय भएको छ,’ उनले भने ।
एनसेलले गत पुस २ गते प्राधिकरणले पहिलोपटक गरेको फ्रिक्वेन्सी अक्सनमा सबैभन्दा बढी मुल्य प्रति ब्याण्डविथ ५ करोड ८० लाख बढाबढमा अक्सन जितेको थियो । दुई कम्पनी मात्रै सहभागी भएको अक्सनमा नेपाल टेलिकमले ५ करोड १ हजार मात्र मुल्य तिर्ने भएपछि सो ब्याण्डको फ्रिक्वेन्सी एनसेलले पाएको थियो । फ्रिक्वेन्सी पाएपनि अक्सनमा भाग लिनु पूर्व राखिएका सर्त भने एनसेलले पूरा गर्नु पर्नेछ । सर्तसहित फ्रिक्वेन्सी दिने निर्णय भएको निर्देशक स्थापितले बताए । प्राधिकरणसँग भएको १८ सय मेगाहर्जमा बाँकी रहेको १६ ब्याण्ड फ्रिक्वेन्सीमध्ये एनसेलले ९ ब्याण्ड मात्रै पाएको हो । हाल यो ब्याण्डमा एनसेलसँग ११ ब्याण्ड सञ्चालनमा छ भने यो ब्याण्डमा एउटा अपरेटरका लागि २० ब्याण्डविथको क्यापिङ छ ।
फ्रिक्वेन्सी पाएपछि अब एनसेलले आफ्नो नेटवर्क विस्तार गर्न बिटीएस टावर थप गर्नु पर्नेछ । त्यस्तै ७७ वटै जिल्लाका सहरी र ग्रामीण क्षेत्रमा क्रमशः ९० र ८० प्रतिशत क्षेत्रमा कभरेज पुर्‍याउन पर्नेछ । यसका लागि प्राधिकरणले २०२२ सम्मको अवधि दिएको छ । प्राधिकरणले सहरी क्षेत्रमा १० एमबिपीएस र ग्रामीण क्षेत्रमा कम्तिमा ५ एमबिपीएस स्पीड क्षमता हुनुपर्ने सर्त राखेको छ । पर्यटकीय क्षेत्र र राजमार्ग वरपर यो वर्षभित्रै नेटवर्क विस्तार गरि तोकिएको गुणस्तरको सेवा दिनुपर्ने सर्त समेत राखेको छ । प्राधिकरणले सर्तसहित फ्रिक्वेन्सी दिने निर्णय भएको जानकारी एनसेललाई दिने तयारी थालेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्