पहिचानको नाममा जनता भड्काउने प्रयास भइ रहेको प्रधानमन्त्री ओलीको आरोप

काठमाडौं,२५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कालखण्डमा पुर्खाहरूले एकिकृत गरेको नेपाल र नेपालीलाई अहिले पहिचानको नाउँमा भड्काउने प्रयास भइरहेको बताएका छन्।

नेपाली सेनाले आइतबार आफ्नो मुख्यालय जंगी अड्डामा आयोजना गरेको एकीकरण मार्गको तीन दिने सेमिनार समापन समारोहमा बोल्दै उनले पहिचानको नाममा केहीले विष घोल्ने काम गरेको आरोप लगाए।
“हिजो नेपालको एकीकरण लडाइबाट गर्नु परेको थियो। एकीकृत राज्यलाई लडाइबाट बचाउनु परेको थियो। आज एकीकृत राज्यलाई नेपालीहरुको मेलमिलाप र एकताले बचाउनु परेको छ,” प्रधानमन्त्री ओलीले भने, “अहिले नेपाललाई एकताबाट बचाउनु परेको छ। तर यहाँ अनेकताको विष घोल्ने प्रयासहरू भइरहेका छन्। पहिचानको राजनीतिलाई उकासेर अनुचित ढंगले जनतालाई भड्काउने प्रयास भइरहेको छ।”
नेपालको एकीकरणको अगुवाइ पुथ्वीनारायण शाहले गरेको बताउंदै उनले नेपाली सेनाले पुराना गढी र किल्लाको संरक्षणमा लागेर प्रशंसनीय काम गरेको जनाउँदै उनले सबैलाई इतिहास बिर्सन नहुने बताए।
नेपालको एकीकरण मार्गको संरक्षणले इतिहासको पुर्नजागरणको सम्मान र रक्षा गर्ने उनले बताए। नेपालको एकीकरण कार्य केही अगाडिसम्म जारी रहेको उनले जनाए। “यो सिलसिला अब यही अन्त हुनुपर्छ। राष्ट्रहरूका बिचमा हारजित हुने, एउटाको विस्तार, अर्कोको विनास हुने युगको अन्त हुनुपर्छ,” प्रधानमन्त्री ओलीको भनाइ थियो।

