दोस्रो चरणको आन्दोलनमा होमिए जसपाका नेताहरु



प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टीले दोस्रो चरणको आन्दोलनको कार्यक्रम शुरु गरेको छ।
सो पार्टीले पुस २५ गतेदेखि माघ ७ गतेसम्मको कार्यक्रम घोषणा गरेको छ । भालि विराटनगर, धनगढी र भैरहवा आमसभाको घोषणा गरिएको छ भने पुस २७ गते वीरगञ्ज, नेपालगञ्ज र जनकपुर तथा पुस २९ गते पोखरा, सुर्खेत र विर्तामोड र माघ ३ गते धरान, मलगंवा, सिरहा, कलैया, तौलिहवा र रौतहटमा आमसभाको आयोजना गरिएको छ । ती सबै कार्यक्रमका लागि केन्द्रबाट वक्ताहरु चयन गरिएको छ । यस्तै माघ ७ गते सबै जिल्लाका सदरमुकाम लगायत प्रमुख शहरहरुमा जनप्रदर्शन गर्ने कार्यक्रम तय पनि जसपाले तय गरेको छ ।

भोलि हुने कार्यक्रमका लागि संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य मृगेन्द्र सिंह यादव विराटनगर, कार्यकारिणी सदस्यहरु नवराज सुवेदी, गोविन्द चौधरी, दुर्गा सोव धनगढी र जसपा नेपाल अध्यक्ष महन्थ ठाकुर, कार्यकारिणी सदस्य महेन्द्रराय यादव र सर्वेन्द्रनाथ शुक्ला भैरहवा जाने भएका छन् ।

सरकारलाई संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा भंग गरिएको कार्य असवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्य रहेको बताउँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए । जनआन्दोलन, जनयुद्ध, मधेश जनविद्रोह लगायत विभिन्न खालको आन्दोलनबाट प्राप्त उपलब्धीलाई प्रधानमन्त्री ओलीले धरापमा पारेको बताउँदै उनले त्यसविरुद्धमा देशव्यापी कार्यक्रमका आयोजना गर्न लागेको बताए । लोकतन्त्रको रक्षाका लागि आन्दोलनबाहेक अरु कुनै विकल्प नरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्