प्रधानमन्त्रीले झुटो बोलेको निर्वाचन आयोगको प्रष्टोक्ति



काठमाडौँ । निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले झुट बोलेको बताएको छ। प्रधानमन्त्रीले नेकपाको आधिकारिकता र चुनाव चिह्न ‘सूर्य’ माग गर्दै पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा दिएको निवेदन कानुनी रित नपुगेकाले फिर्ता गरिएको दाबी गरेपछि निर्वाचन आयोगको यस्तो प्रष्टोक्ति आएको हो।

निर्वाचन आयोगका अधिकारीले उक्त विषयमा कुनै निर्णय नभएको बताएका हुन्। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपाको निवेदनमा कुनै निर्णय नभएको बताउँदै निर्णय भएको भए आजसम्म आफूलाई जानकारी भइसक्नुपर्नेमा कुनै जानकारी नभएको उल्लेख गरे। त्यस्तै, आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले पनि त्यसबारे निर्णय भएको विषयमा आफू अनभिज्ञ रहेको बताए।

प्रधानमन्त्री ओलीले आफू निकटका प्रवासी नेपाली एकता मञ्चका नेता र कार्यकताहरूको कार्यक्रमलाई भर्चुअल माध्यमबाट शुक्रबार सम्बोधन गर्दै नेकपाको आधिकारिक धार आफू भएको र चुनाव चिह्न ‘सूर्य’ पनि आफ्नै भएको दाबी गरेका थिए। यो कुरा भन्ने क्रममा उनले निर्वाचन आयोगमा दाहाल र नेपाल पक्षले पार्टीमा आधिकारिकता र चुनाव चिह्न सूर्य माग्दै दिएको निवेदन पनि खारेज गर्दै फिर्ता पठाएको दाबी गरेका थिए।

आयोगको राजनीतिक दल र कानुनसम्बन्धि शाखाका कानुन उपसचिव गंगाबहादुर खरेलले भने नेकपाको निवेदनको विषयमा कुनै निर्णय नभएको बताए। प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले निर्णय गरेको भए आफूलाई जानकारी नभएको तर आफ्नो तहबाट भने त्यस्तो निर्णय नभएको उनको भनाइ थियो। राजनीतिक दलहरूले दिएका निवेदनका कानुनी आधार हेर्ने शाखा राजनीतिक दल र कानुन शाखा हो।

प्रतिक्रिया दिनुहोस्