नेचासल्यानमा यस वर्ष धमाधम सडक स्तरोन्नति गरिंदै

डिल्ली शर्मा

सोलुखुम्बु,१९ मंसिर । स्थानीय तहको निर्वाचन भएयता अधिकांश बस्तीहरुमा सडक सञ्जाल पु¥याउन सफल भएको जिल्लाको नेचासल्यान गाउँपालिकाले अब भने सडक स्तरोन्नतितर्फ आफ्नो ध्यान केन्द्रित गर्ने भएको छ । हिउँदमा सवारीसाधन सञ्चालनका लागि कुनै समस्या नभए पनि वर्षायाममा हुने सास्तीलाई ध्यानमा राखेर नयाँ ट्रयाक ओपनभन्दा सडकको स्तरोन्नतिलाई प्राथमिकता दिएर काम अगाडि बढाइएको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए ।
गाउँपालिकाभित्र रहेका विभिन्न सडकको स्तरोन्नतिका लागि संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त रकमसँगै चालु आर्थिक वर्षमा गाउँपालिकाले समेत प्रशस्त बजेट विनियोजन गरेको अध्यक्ष बास्तोलाको भनाई छ । गाउँपालिकाभित्र रहेका खोलाहरु बढेसँगै सवारीसाधन आवात–जावतमा हुने अवरोध अन्त्यका लागि सल्यानको ठाडो खोला, सिम्ले–राईडाँडाको सीमा खहरे खोलामा मोटरेबल पुल निर्माण सम्पन्न भइसकेको जानकारी दिंदै अध्यक्ष बास्तोलाले नयाँ दुईवटा पुल निर्माणको क्रममा रहेको बताए । नेचासल्यान– थुलुङ दुधकोशी जोड्ने सोलु चुर्पुघाट मोटरेबल पुलको ठेक्का प्रक्रिया पूरा भएर निर्माण कार्य सुरु भएको जानकारी दिंदै बास्तोलाले भने– “नालाघाट पुल निर्माणका लागि टेण्डर भइसकेको छ । बाँकी ट्रयाक ओपन हुनेबित्तिकै त्यहाँको काम सुरु हुन्छ ।”
अध्यक्ष बास्तोलाका अनुसार दाल्दु खोला–खाल्पाफेदी–दोदी सडकको स्तरोन्नतिका लागि पाँच करोड रुपैयाँ छुट्याइएको छ । प्रदेश सरकारको बजेट अन्तर्गत रहेको पाँच करोडले सो सडक खण्डको दायाँ–बायाँ पहिरो रोक्नका लागि ग्याविन वाल लगाउने र ड्रेनसहित सोलिङ्ग गर्ने जिम्मेवारीसहित ठेकदार कम्पनीले काम गरिरहेको उनले बताए ।
यसैगरी सल्यानफेदीबाट खहरेसम्म सोलिङ्ग, ग्याविन र मेशिनरी वाल निर्माण कार्य पनि यसै वर्ष सम्पन्न हुँदैछ । खहरे–सिम्ले–बिहिबारे– फुर्के र खहरे–नाम्लो–बिहिबारे सडक स्तरोन्नतिका लागि संघीय सरकारबाट दुई–दुई करोड बजेट विनियोजन भएको जानकारी दिंदै उनले सो रकमबाट मुख्य गरी खोलामा कल्भर्ट निर्माण गरिने रहस्य खबरलाई बताए । उनका अनुसार ती सडकखण्ड स्तरोन्नतिको जिम्मेवारी ठेकेदार कम्पनीहरुलाई दिइसकिएको छ ।
सडक स्तरोन्नतिकै लागि खहरे– छितापातल–दोदी सडक खण्डका लागि प्रदेश सरकारबाट एक करोड बजेट बिनियोजन भएको छ । सो रकमबाट उक्त सडक खण्डमा सोलिङ्ग गरिने बताइएको छ ।
गाउँपालिकाका भित्री सडकहरुको स्तरोन्नतिका लागि पालिका आफैले बजेट विनियोजन गरेको अध्यक्ष बास्तोलाको भनाइ छ । जसअन्तर्गत विहिबारे–केदार–फुर्के, विहिबारे–कालिका, नाम्लो–तीनकन्या र अन्य सडक खण्डहरुमा यस वर्ष सोलिङ्ग गरिने उनले बताए ।

