ह्यारी गुरुङको शैली प्रति प्रेस युनियन युरोपद्वारा खेद प्रकट
यूरोप – गैर-आवासीय नेपाली संघ यूकेका मनोनित सदस्य तथा हङ्कङ् नेपाली मञ्च यूकेका अध्यक्ष हरीप्रसाद गुरुङ्ले (उर्फ ह्यारी गुरुङ्ग) समाचारको बिषयलाई लिएर सामाजिक सञ्जालमा पत्रकारलाई प्रयोग गरिएको असामाजिक, अमर्यादित भाषाशैली, टिपण्णी र व्यवहारप्रति नेपाल प्रेस यूनियन युरोप खेद प्रकट गरेको छ ।

पछिल्लो समयमा निकै विवादास्पद छवी बनाएका गुरुङलाई गैर-आवासीय नेपाली संघ, यूकेले सदस्यमा मनोनित गरेपछि उनले प्रयोग गर्ने असभ्य भाषा, धम्की र अभद्र व्यवहारले यूके र युरोप आसपासमा बस्ने प्रवासी नेपालीहरूलाई अत्यन्तै दुःखी बनाएको प्रेस विज्ञप्ति उल्लेख गरिएको छ ।
सचिवालय प्रमुख प्रवल भट्टराईले जारी गरेको सो प्रेस विज्ञप्तिमा निजको व्यवहारमा कुनै परिवर्तन नआएमा हामी सम्बन्धित देशको प्रचलित कानून बमोजिम कारवाही गर्न गराउन वाध्य हुने र समाजका सबै निकायलाई पत्राचार गरिने उल्लेख गरिएको छ ।
ह्यारी गुरुङ्ले राइट नेपाल डटकमका सम्पादक भोला लामिछानेलाई समाचार लेखेकै आधारमा सामाजिक सञ्जालमा गाली बेइज्जत गर्दै टेलिफोन मार्फत पनि धम्काएका थिए । समाचारमा चित्त नबुझे कानूनी माध्यम वा अन्य प्रकृयाबाट समाधान खोज्न सकिने प्रावधान हुदाँहुदै जंगली व्यवहार देखाउनु निन्दनीय भएको प्रेस यूनियन यूरोपले जनाएको छ ।


