भारतीय प्रधानमन्त्री मोदीले गरे प्रधानमन्त्री शाहको प्रशंसा
नयाँ दिल्ली,७ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको भविष्य र नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धता देखेको बताएका छन्।

प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले छोटो समयको कुराकानीबाटै शाहको दूरदृष्टि र प्रतिबद्धता महसुस गरेको बताएका हुन्।‘केही महिनाअघि विश्वकै युवा प्रधानमन्त्रीका रूपमा उनले विश्व मञ्चलाई सम्बोधन गर्दा उहाँको दूरदर्शिता स्पष्ट देखिएको थियो। आजको कुराकानीमा मैले नेपालको भविष्य र भारत–नेपाल सम्बन्धका लागि उनको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको छु’, मोदीले भने।
मोदीले नेपाली जनताले यस वर्ष प्रधानमन्त्री शाहलाई दिएको ऐतिहासिक जनादेश नयाँ पुस्ताको आकाङ्क्षा र आशाको प्रतिविम्ब भएको उल्लेख गरे। उनले सशक्त र समृद्ध नेपालको विकास यात्रामा भारत सधैँ साझेदार रहने प्रतिबद्धता पनि व्यक्त गरे।
भारत र नेपालबीचको सम्बन्ध छिमेकीको सीमामा मात्र सीमित नभई अद्वितीय विश्वासमा आधारित रहेको उनको भनाइ थियो। दुवै देशका खुसी र चुनौती साझा रहेको उल्लेख गर्दै उनले एकअर्काको प्रगतिमा साझेदार र कठिन समयमा सहयोगीका रूपमा रहँदै आएको बताए।


