पटाका पड्काएको आरोपमा कपिलवस्तुमा सात जना पक्राउ,पर्सामा तीन लाख ५० हजारको अवैध पटका बरामद



बुटवल,२४ कार्तिक । कार्तिक रूपन्देही प्रहरीले पटाका पड्काएको आरोपमा सात जनालाई पक्राउ गरेको छ।

सोमबार साँझ पौने ७ बजे कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का कृष्ण परियार र आर्यन परियार पक्राउ परेका थिए। उनीहरूले पटाका पड्काउँदा एक जना घाइते भएको र उनको उपचार भइरहेको रूपन्देहीका प्रहरी प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताए।

परियारद्वय बाणगंगा नगरपालिका–२ स्थित गुराँस युवा क्लबले आयोजना गरेको भैलो खेल्दै रूपन्देहीको कञ्चन गाउँपालिका–१, हात्तीबजार चोक पुगेका बेला पटाका पड्काएका थिए।

त्यस्तै, ठूलो आवाज आउने पटाका पड्काएर समाजमा त्रास फैलाएको आरोपमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोहिणी गाउँपालिका–३, धकधईका किसन मिश्र, रोहिणी–४ का पञ्चम हरिजन, रोहिणी–१ का अंगतकुमार कहार, सिद्धार्थनगर नगरपालिका–४ का मेहसल बरई र बुटवल उपमहानगरपालिका–११, बुद्धनगरका सन्देश परियार छन्।

डिएसपी चन्दका अनुसार पक्राउ परेका सातै जनामाथि आवश्यक अनुसन्धान भइरहेको छ।

उता, प्रहरीले पर्सा जिल्लामा चार दिनमा करिब तीन लाख ५० हजारबराबरका पटाका, आतिशबाजी तथा विस्फोटकजन्य पदार्थ बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले यही कात्तिक २१ गतेदेखि हालसम्म विभिन्न स्थानबाट खुर्सानी पटाका, चक्र, फुलझरी, रकेट पटाका, आलु बम, झिरझिरेलगायतका पटाका तथा आतिशबाजीजन्य पदार्थ नियन्त्रणमा लिई बरामद गरेको हो।

साथै पटाका, आतिशबाजीजन्य पदार्थ विस्फोटक पदार्थअन्तर्गत पर्ने र कानुनद्वारा उक्त पदार्थको उत्पादन, भण्डारण, बिक्री वितरण, ओसारपसार र प्रयोगमा बन्देज गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्