देउसी-भैलो खेल्ने समयसीमा नतोक्न देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई गृहको निर्देशन


मन्त्रालयले सचिवस्तरीय निर्णयअनुसार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पठाउँदै नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावको संरक्षण तथा प्रवर्द्धन हुने गरी तिहार पर्व हर्षोल्लासपूर्वक मनाउने वातावरण बनाउन आग्रह गरेको छ।
निर्देशनअनुसार देउसी–भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक हुनुपर्नेछ। कसैलाई पनि चन्दा वा दक्षिणा दिन दबाब दिन पाइने छैन। त्यस्तै, चाडपर्वको नाममा जुवातास खेल्ने, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने गतिविधि नियन्त्रण गर्न मन्त्रालयले प्रशासनलाई निर्देशन दिएको छ।
त्यसैगरी, अश्लील नृत्य तथा गीतसङ्गीत प्रस्तुत गर्ने र विभिन्न समुदायबीच द्वेष फैलाउने गतिविधि रोक्न भनिएको छ। अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा ठूलो आवाजमा माइक तथा ध्वनि उपकरण प्रयोग नगर्न पनि मन्त्रालयले सचेत गराएको छ।
सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण, वातावरणीय स्वच्छता र सार्वजनिक शान्ति सुरक्षालाई प्राथमिकतामा राख्दै देउसी–भैलो कार्यक्रम व्यवस्थित बनाउन मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो।


