उदयपुर र मुगुमा सवारी दुर्घटनामा परी १५ जना घाइते



काठमाडौं,२४ कार्तिक । उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेर्वा चोकमा माइक्रो बस दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन्।

मदन भण्डारी लोकमार्गअन्तर्गत बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१-०२-००१ ज ४६२१ नम्बरको माइक्रो मंगलबार दिउँसो करिब १२ः४० बजे अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको हो।

प्रहरीका अनुसार माइक्रोमा चालकसहित ११ जना सवार थिए। दुर्घटनामा चालक कृष्ण केसीसहित १० जना घाइते भएका छन्।

दुर्घटनामा माइक्रोमा सवार झापा सुरुङ्गा नगरपालिका–३ की रेणुका प्रसाईकी १० वर्षीया छोरी निरुसा प्रसाई भने सकुशल रहेकी छन्।

उता, मुगुको सोरु गाउँपालिका–६ गजेडीस्थित झ्यालेखोलामा बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।

बुधबार दिउँसो भैलो खेल्ने टोली बोकेर सोरुकोटबाट तारापानीतर्फ जाँदै गरेको बा १८ च ४१८ नम्बरको जिप ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिपमा चालकसहित १२ जना सवार थिए। दुर्घटनामा चालक उपेन्द्र परियारसहित पाँच जना घाइते भएका छन्। घाइतेमध्ये १९ वर्षीय गणेश ऐडीको अवस्था गम्भीर रहेको छ।

प्रहरी टोलीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरी उपचारका लागि सिपस्थित जिमा स्वास्थ्य चौकी पठाएको छ।

प्रतिक्रिया दिनुहोस्