काठमाडौँस्थित हनुमानढोका दरबारमा पठाइयो गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली



गोरखा,३१ असोज । बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित हनुमानढोका दरबारमा पठाइएको छ ।

शुभसाइतअनुसार शनिबार बिहान ९ बजे विधिपूर्वक पूजाअर्चना गरी बाजागाजासहित डोली बिदाइ गरिएको गोरखा दरबारका नायब सुब्बा हरि सारूले जानकारी दिए । गोरखा दरबारका सुसारेहरूले बोकेर ल्याएको डोली सरकारी गाडीमार्फत काठमाडौँ पठाइएको उनले बताए।

गोरखाबाट पठाइएको फूलपाती शनिबार साँझ हनुमानढोका दरबारमा हर्षबढाइँसहित भित्र्याउने परम्परा छ ।

ऐतिहासिक मान्यताअनुसार पृथ्वीनारायण शाहले काठमाडौँबाट राजकाज सुरु गरेपछि गोरखा दरबारबाट हरेक वर्ष फूलपाती पठाउने परम्परा चल्दै आएको हो । यस परम्पराले गोरखा दरबार र हनुमानढोका दरबारबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिँदै आएको छ ।
बडादसैँको सातौँ दिन मनाइने फूलपातीलाई दसैँको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्