नेतृत्व चयनका लागि कांग्रेस निर्बाचन आज,मतदान गर्न एक जनालाई करिव ३० मिनेट लाग्ने अनुमान



काठमाडौं,२३ असोज । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । विहीबार गर्ने भनिएको मतदान तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले केन्द्रीय कार्यसमिति चयनका लागि आज शुक्रबार बिहान ७ बजेबाट मतदान सुरू हुने जानकारी दिएका छन् ।

मतदानका लागि प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह र खुलामञ्चमा बुथहरू स्थापना गरेको छ । राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका मतदाताहरूले मतदान गर्ने छन् ।

खुलामञ्चमा बाँकी ६ प्रदेश र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्ने छन् ।

खुलामञ्चमा रहेको तराई–मधेश हलमा कोशी र मधेश प्रदेशका प्रतिनिधिहरुले मतदान गर्ने छन् भने हिमाल हलमा गण्डकी प्रदेशका मतदाताले मतदान गर्ने छन् ।

पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम तथा जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्ने समितिले जनाएको छ ।

निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतपेटिकाहरू संकलन गरेर ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा लगेर गणना सुरु गर्ने जनाएको छ ।

मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिने छ । रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको समितिले जनाएको छ ।

एक जनाले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ । मतदान स्थल निर्माणमा सहभागीले दिएको जानकारी अनुसार एक जनालाई मतदान गर्न करिब ३० मिनेट लाग्ने अनुमान छ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार महाधिवेशन प्रतिनिधिहरु ७ हजार ३१७ छन् । (सांकेतिक तस्बिर)

 

प्रतिक्रिया दिनुहोस्