कांग्रेस सहमहामन्त्रीमा आङगेलु शेर्पाको उम्मेदवारी



काठमाडौं,२० असोज । नेपाली कांग्रेसका नेता आङगेलु शेर्पाले पार्टीको केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।

कांग्रेसको केन्द्रीय महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ताको कार्यतालिकाअनुसार शेर्पाले मंगलबार अल्पसंख्यक तर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्। शेर्पा हाल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्यसमेत रहेका छन्।

उम्मेदवारी दर्ता गरेपछि सामाजिक सञ्जालमार्फत शेर्पाले आफूले सबै साथीहरूको सल्लाह–सुझावअनुसार सहमहामन्त्री पदमा उम्मेदवारी दिएको बताएका छन्।

उनले राजनीति सामुदायिक अभियान भएकाले मित्र,शुभचिन्तक तथा सहयात्रीहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन्। आफ्नो निर्वाचन अभियान साथीहरूको सहभागितामा तीव्र गतिमा अघि बढिरहेको भन्दै उनले अभियानमा साथ दिने सबैप्रति आभार व्यक्त गरेका छन्।

‘सबै साथीहरूको सल्लाह–सुझाव बमोजिम मैले नेपाली कांग्रेस केन्द्रीय महाधिवेशनमा अल्पसंख्यकतर्फको सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गरेको छु,’ शेर्पाले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले निर्वाचन अभियानमा सहभागी तथा सहयोग गरिरहेका सबै सहयात्री मित्रहरूलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी अभियानमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्