कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा रामेछापमा एक जनाको मृत्यु
मन्थली,२० असोज । रामेछापको लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटमा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महत रहेका छन्।

प्रहरीका अनुसार महत असोज १९ गते मध्यान्ह करिब १२ बजे कमेरो माटो लिन घरबाट निस्किएका थिए। दिउँसो ३ बजेसम्म पनि घर नफर्किएपछि परिवार तथा स्थानीयले उनको खोजी सुरु गरेका थिए।
खोजीका क्रममा असोज २० गते दिउँसो करिब १२ः३० बजे घरदेखि करिब डेढ किलोमिटर उत्तरतर्फ कमेरो माटो निकाल्ने स्थानमा ढिस्को खसेको भेटिएको थियो। सोही स्थानमा माटो पन्छाउने क्रममा महतको शव फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




