कांग्रेसको १५औँ महाधिवेशनमा भड्किलो प्रचार निषेध, डिजिटल प्रचारलाई मात्र अनुमति



काठमाडौं,१६ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा उम्मेदवारहरूले गर्ने प्रचारप्रसारलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन केन्द्रीय निर्वाचन समितिले कडा आचारसंहिता लागू गरेको छ ।

हालै भोटेकोशीलगायत देशका विभिन्न क्षेत्रमा आएको प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको र मुलुक शोक तथा पुनरोत्थानको कठिन अवस्थामा रहेका बेला महाधिवेशन हुन लागेकाले प्रचारप्रसारमा थप कडाइ गरिएको समितिले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार महाधिवेशनमा विभिन्न पदका आकांक्षी तथा उम्मेदवारले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न पाउने छैनन् । महाधिवेशनलाई विपद्को संवेदनशील परिस्थिति र राष्ट्रिय संवेदनाअनुकूल मर्यादित बनाउन जुनसुकै प्रकारका भड्किला प्रचार अभियानमा रोक लगाइएको हो ।

त्यस्तै, महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेटलगायत कुनै पनि प्रकारका प्रिन्टेड प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।महाधिवेशन स्थलको बाहिरी परिसर, सार्वजनिक सडक तथा आसपासका क्षेत्रमा समेत कुनै पनि प्रकृतिका भौतिक प्रचार सामग्री राख्न वा प्रदर्शन गर्न नपाइने समितिले स्पष्ट पारेको छ ।

उम्मेदवारहरूले आफ्ना एजेण्डा तथा उम्मेदवारीसम्बन्धी विवरण भने डिजिटल माध्यमबाट मात्रै सम्प्रेषण गर्न पाउनेछन् । सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यमबाट प्रचारप्रसार गर्न अनुमति दिइएको समितिले जनाएको छ ।

आचारसंहिताको पूर्ण पालना गर्दै विपद्को यस घडीमा देश र जनताप्रतिको दायित्वबोधसहित १५औँ महाधिवेशनलाई अनुशासित, मर्यादित र भव्य रूपमा सम्पन्न गराउन नेता, कार्यकर्ता, उम्मेदवार तथा शुभेच्छुकलाई समितिले अपिल गरेको छ ।निर्वाचन आचारसंहिता उल्लंघन गरे नियमानुसार कारबाही गरिने चेतावनीसमेत समितिले दिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा महाधिवेशनले पार्टीको नीति निर्माणसँगै आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएकाले संवेदनशील परिस्थितिमा निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्