डायनामिक साकोसको १८ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न
दिनेश महर्जन,ललितपुर,४ असोज । डायनामिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पुल्चोक ललितपुरको १८औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष पुष्पप्रसाद श्रेष्ठको अध्यक्षतामा शनिबार सम्पन्न साधारण सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो।
साधारण सभामा संस्थाका उपाध्यक्ष रविशंकर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए। संस्थाका सचिव नरेन्द्र शाक्यले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित कार्ययोजना प्रस्तुत गरेका थिए।
त्यसैगरी, आर्थिक वर्ष २०८२/०८३ को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय–व्यय विवरण र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा सुपरीवेक्षण समितिका संयोजक शंकरप्रसाद श्रेष्ठले प्रस्तुत गरेका थिए। प्रस्तुत प्रतिवेदनमाथि विषयगत छलफलपछि सबै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ।
सभामा संस्थाका पूर्वअध्यक्ष राजेन्द्र शाक्य तथा सञ्चालक समिति सदस्य सुरेन्द्र शाक्यले संस्थाको गतिविधि र आगामी दिनमा चाल्नुपर्ने कदमबारे आ–आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा संस्थाका अध्यक्ष पुष्पप्रसाद श्रेष्ठले देशमा बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको वर्तमान अवस्था, त्यसबाट उत्पन्न चुनौती तथा डायनामिक साकोसको भावी रणनीति र कार्ययोजनाबारे जानकारी गराएका थिए।
उनले संस्थाले वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (बागमती प्रोस्कुन) ले सञ्चालन गरेको COSIS (Cooperatives Self-regulation Program for Organizational Sustainability and Institutionalized Services) कार्यक्रममा आबद्ध भई संस्थागत सञ्चालनका लागि तयार गरिएका स्वःनियमनका मापदण्डहरू अवलम्बन गर्दै आएको जानकारी दिए।
यसैबीच, १८औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनबाट संस्थाको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्।
सात सदस्यीय सञ्चालक समितिको अध्यक्षमा पुष्पप्रसाद श्रेष्ठ, उपाध्यक्षमा रविशंकर श्रेष्ठ, सचिवमा शंकरप्रसाद श्रेष्ठ र कोषाध्यक्षमा यशोदा श्रेष्ठ निर्वाचित भएका छन्। सदस्यहरूमा नरेन्द्र शाक्य, शिव श्रेष्ठ र रुद्रकुमारी बस्नेत निर्विरोध निर्वाचित भएका छन्।
त्यसैगरी, लेखा सुपरीवेक्षण समितिको संयोजकमा निर्मलकुमार बराल तथा सदस्यहरूमा रेखा श्रेष्ठ र विशाल शाक्य निर्विरोध निर्वाचित भएका छन्।
डायनामिक बचत तथा ऋण सहकारी संस्था लि। पुल्चोक ललितपुरको १८ औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन मिति २०८३ असोज ३ गते शनिवार सम्पन्न भयो ।


